‘राज्यको विकास निर्माण र समृद्धिको यात्रामा योगदान गर्न तयार छौं’

कठमाडौं। नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । महासंघले आइतबार विज्ञप्ति जारी गरी आन्दोलनको क्रममा भएको ठूलो मानवीय क्षति प्रति दुःख प्रकट गरेको हो ।

मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिको अन्त्यको उद्देश्यले जेन जी युवाहरुको नेतृत्वमा सुरु भएको आन्दोलनको कारण सत्ता परिवर्तन भई अन्तरिम सरकारसमेत गठन भइसकेको अवस्थामा नवगठित अन्तरिम सरकारले जेन जी आन्दोलनको मर्मअनुसार काम गरोस् भन्ने कामना महासंघले गरेको छ । तोकिएको समयमा चुनाव सम्पन्न गरी मुलुकलाई निकास दिन सकोस् भन्ने अपेक्षा महासंघले राखेको छ ।

यस्तो छ विज्ञप्ति

मुलुकमा व्याप्त भ्रष्टाचार र बेथितिको अन्त्यको उद्देश्यले जेन जी युवाहरुको नेतृत्वमा आन्दोलन सुरु भयो । २३ र २४ गते भएको आन्दोलनको बलमा सत्ता परिवर्तन भइ अन्तरिम सरकारसमेत गठन भइसकेको छ । नवगठिन अन्तरिम सरकारले जेन जी आन्दोलनको मर्म अनुरुप काम गरोस् र तोकिएको समयमा नै चुनाव गरी मुलुकलाई निकास दिन सकोस भन्ने अपेक्षा राखेका छौं । आन्दोलनको पहिलो दिन राज्यबाट बल प्रयोग हुँदा डेढ दर्जन भन्दा बढी जेन जी युवाहरुले ज्यान गुमाउनु पर्ने दुःखद अवस्था सिर्जना भयो । आन्दोलनका क्रममा हालसम्म ७० जना भन्दा बढीको निधन भइसकेको छ । यति ठूलो संख्यामा भएको मानवीय क्षतिप्रति हामीहरु निकै दुखि भएका छौं । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछौं । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौं ।

आन्दोलनकै क्रममा जेन जीहरुको भावना विपरित राज्य र निजी क्षेत्रको सम्पत्तिप्रति लक्षित गरेर आक्रमणसमेत भयो । आक्रमण, आगजन, तोडफोड र लुटपाटका घटनाहरु पनि घट निकै दुःखदायी छन् । भौतिक सम्पत्तिमाथि क्षति हुँदा राज्य र निजी क्षेत्रले धेरै नोक्सानी ब्यहोर्नु परेको छ । लगानीलाई आकर्षित गरी आर्थिक सुधारको बाटोमा अगाडि बढ्नुपर्ने अवस्थामा निजी क्षेत्र माथिको आक्रमण पीडा दायी छ । यसरी आगजनी तथा लुटपाटमा संलग्न हुनेहरुमाथि समेत राज्यले अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
आन्दोलनको बलमा मुलुकको सत्ता परिवर्तन भएको छ । जनताको अपेक्षाहरु धेरै छन् । ती जन अपेक्षाहरु पुरा गर्ने दिशामा देश अगाडि बढ्नुको विकल्प छैन । साथै क्षति भएका सम्पत्ति तथा भवनहरुको पुननिर्माण गर्नुपर्ने अवस्था छ । अब सरकार, जनता, निजी क्षेत्र र सम्पूर्ण सरोकारवाला निकायहरुको सहकार्य र हातेमालो गरी पुननिर्माणमा लाग्न पनि हामी आह्वान गर्दछौं । राज्यको विकास निर्माण र समृद्धिको यात्रामा हामीले हाम्रो तर्फबाट गर्नुपर्ने योगदानका लागि हामी सधैं तयार छौं ।’

उमाकान्त शर्मा, अध्यक्ष
महेश कुँवर, महासचिव
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ

 

You might also like

Comments are closed.