बैंकिङ प्रणाली सुरक्षित छ यसलाई सही ढंगले प्रयोग गर्नुपर्छ: गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन–जी आन्दोलनका क्रममा केही शाखा कार्यालयमा आक्रमण भए पनि बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् । सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।

गभर्नर पौडेलका अनुसार देशभर ६८ वटा बैंक शाखामा आक्रमण भए पनि आन्दोलनकारीहरूले बैंकलाई प्रत्यक्ष लक्षित नगरेको देखिएको छ । त्यस्तै ६९ वटा एटिएममा क्षति पुगेको भए पनि बाँकी सम्पूर्ण प्रणाली सहज रूपमा सञ्चालनमा रहेको उनले स्पष्ट पारे ।

उनले बैंककर्मीहरूको मनोबल कायम राख्न आवश्यक रहेको उल्लेख गर्दै भने, “अहिले सबैको मनोबल घटेको छ। यसअघि पनि हामीलाई मनोबल कायम राख्न चुनौती थियो। अहिलेका घटनाले थप समस्या सिर्जना गरे पनि समाधानका लागि हामी तयारीमा छौं।”

पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको अनुभव र नेतृत्वले बैंक तथा वित्तीय प्रणालीलाई अझ सुदृढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले भने, “अर्थमन्त्री अनुभवी व्यक्तित्व हुनुहुन्छ। राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको सहकार्यले बैंकिङ प्रणालीलाई मजबुत बनाउन मद्दत गर्नेछ। व्यवसायीहरूले भोगिरहेका समस्याहरू समाधान गर्न सहकार्य आवश्यक छ।”

उनले हाल बैंकिङ क्षेत्रका चुनौतीहरू अझै कायम रहेको स्वीकार गर्दै समाधानका उपायमा फोकस गर्नुपर्नेमा जोड दिए । बैंककर्मी, व्यवसायी र सरकारबीचको सहकार्यले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।

You might also like

Comments are closed.