‘उद्योग र व्यवसायीहरूको सुरक्षामा सरकार गम्भीर बनोस्’

निर्माण व्यवसायी महासंघ

काठमाडौं । निर्माण व्यवसायी संघ बाराका अध्यक्ष शेषनाथ प्रसाद शाह तेलीको निवासमा भएको तोडफोड, लुटपाट तथा आगजनीको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले कडा शब्दमा भत्सर्ना गरेको छ ।

भाद्र २४ गते देशव्यापी प्रदर्शनका क्रममा कलैया उपमहानगरपालिका–१, राजदेवीटोलस्थित अध्यक्ष शाहको निवासमा भएको घटनाले ठूलो क्षति पु¥याएको महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालले सोमबार जारी विज्ञप्तिमार्फत घटनामा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न माग गरेका छन् ।

महासंघका अनुसार साँढे तीन तले घरमा भएको तोडफोड, लुटपाट र आगजनीबाट ठूलो क्षति पुगेको छ । घरभित्र पार्किङ गरिएको एउटा गाडीमा तोडफोड हुनुका साथै चार वटा मोटरसाइकलमा समेत आगजनी गरिएको प्रारम्भिक विवरण प्राप्त भएको छ । यस घटनाबाट अध्यक्ष शाह, जो कलैया–१२ का वडाध्यक्षसमेत हुन्, करिब ७०–७५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।

महासंघले शाहलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै निर्माण व्यवसायी, निर्माणाधीन संरचना, उपकरण र व्यवसायीहरूको घरपरिवारसमेत सुरक्षित राख्न विशेष सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ । हालको विषम परिस्थितिमा निर्माण उद्योगलाई थप सुरक्षा प्रत्याभूति दिन अपरिहार्य भएको महासंघले स्पष्ट पारेको छ ।

You might also like

Comments are closed.