काठमाडौं । हालै भदौ २३ र २४ गते जन–जेड समूहको अगुवाइमा भएको आन्दोलनले देशमा ठूलो राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको छ । आन्दोलनका क्रममा प्राण गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
तर, आन्दोलनपश्चात् केही अनलाइन, छापा र सामाजिक सञ्जालमार्फत् इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, शंकर ग्रुपका संचालक साहिल अग्रवाल तथा जन–जेडका अगुवा सुदन गुरुङलाई जोडेर आएका भ्रामक समाचारप्रति दुबै संस्थाले आपत्ति जनाएका छन् ।
इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट र शंकर ग्रुपका संचालक अग्रवालले संयुक्त वक्तव्य जारी गर्दै कोभिड–१९ महामारीका बेला मात्र ‘हामी नेपाल’ संस्थासँग सहकार्य गरेको स्पष्ट पारेका छन् । उक्त सहकार्य सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत भएको र त्यसपश्चात् संस्थासँग कुनै सहकार्य नभएको उनीहरूले प्रस्ट पारेका छन् । “सुदन गुरुङ र उनको हालको गतिविधिसँग हाम्रो कुनै सरोकार छैन,” वक्तव्यमा उल्लेख गरिएको छ ।
यस्तै, आन्दोलनका क्रममा जगदम्बा हस्पिटालिटी समूहअन्तर्गत सञ्चालनमा आएको होटल हिल्टनमा भएको आगजनी घटनाप्रति दुबै संस्थाले गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरूले होटल खरानीमा परिणत हुँदा केवल आफ्नो मात्र नभई नेपालको व्यापार, पर्यटन र आर्थिक क्षेत्रकै ठूलो क्षति भएको बताएका छन् ।
“नेपालमै लगानी गरेर केही गर्ने उद्देश्यले थुप्रै अवसरहरूलाई त्यागेका थियौं, तर अहिले हाम्रो मिहिनेत र सपना खरानीमा परिणत भएको छ । यद्यपि हामी विचलित भएका छैनौं, फेरि व्यवसायलाई नयाँ शिराबाट अघि बढाउनेछौं,” वक्तव्यमा भनिएको छ ।
साथै, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका भ्रामक, गलत र कपोलकल्पित समाचारप्रति नलाग्न सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीमा अपिल गरिएको छ ।
वक्तव्यमा अन्त्यमा भनिएको छ, “नेपाल र नेपालीका लागि योगदान गर्न हामी दृढप्रतिज्ञ छौं ।”
Comments are closed.