नेपालको पर्यटन क्षेत्र पुनर्रुत्थानका लागि सरकार, बोर्ड र व्यवसायी एक्यबद्ध

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा पुनः स्थापित गर्न पर्यटन क्षेत्रको पुनर्रुत्थानका विषयमा छलफल गरिएको छ ।

सोमबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पर्यटनसम्बन्धी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी भएका थिए । जेनजी आन्दोलनका कारण पर्यटन संरचनामा देखिएको क्षतिलाई चुनौतीका रूपमा स्वीकार्दै सहभागीहरुले नेपाल पुनः प्रगतिका मार्गमा अघि बढिरहेको निष्कर्ष निकाले ।

पर्यटन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले नीतिगत अवरोध हटाएर पर्यटन क्षेत्रलाई अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले नेपाल सुरक्षित गन्तव्य भएको सन्देश प्रवाह गर्न सूचना प्रविधि र अन्तर्राष्ट्रिय संजालको अधिकतम् प्रयोग भइरहेको उल्लेख गर्दै पर्यटकको सुरक्षा र सहज आवागमनलाई पहिलो प्राथमिकता दिने आश्वासन दिए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नयाँ ‘पर्यटन प्याकेज’ सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै दूतावास, एनआरएनए र अन्य माध्यममार्फत नेपाल सुरक्षित रहेको सन्देश पु¥याउन आग्रह गरे । पोखरा कार्यालय प्रमुख मणीराम लामिछानेले ट्रेकिङ र साहसिक पर्यटन मार्ग सुरक्षित रहेको र पर्यटकलाई सहजीकरण गर्न समन्वय भइरहेको जानकारी दिए ।

नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पर्यटक स्वागत र सेवा अविच्छिन्न रहने उल्लेख गरे । त्यस्तै, नाटा अध्यक्ष कुमारमणी थपलिया, बोर्ड सदस्य ऋषिराम भण्डारी, पाटा महासचिव नरेन्द्रदेव भट्टलगायतले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा प्रचार गर्न दूतावास, विदेशी नियोग र अन्तर्राष्ट्रिय संजालसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

छलफलमा टान अध्यक्ष सागर पाण्डे र कैलाश टुर अपरेटर एशोसिएसनका अध्यक्ष बिमल नहर्कीले कैलाश यात्रामा सहजता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका संकटपछि पनि पर्यटन क्षेत्र उभिएको उदाहरण दिँदै यसपटक छिट्टै पुनरुत्थान गर्ने आत्मविश्वास व्यक्त गरे ।

साथै, आइतबार पाँच तारे र चार तारे होटल व्यवसायीहरूसँग पनि छलफल गरी पर्यटक स्वागतका लागि होटल क्षेत्र तयार रहेको निष्कर्ष निकालिएको उनले बताए । यी सबै छलफलका क्रममा सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले सामूहिक प्रतिबद्धता जनाउँदै पछिल्लो चुनौतीलाई अवसरमा बदल्ने र नेपालको पर्यटन क्षेत्रलाई अझ सुरक्षित, आकर्षक र सहज गन्तव्यका रूपमा स्थापित गर्ने ऐक्यबद्धता जनाएका छन् ।

You might also like

Comments are closed.