नाडा प्रतिनिधिमण्डलद्वारा अर्थमन्त्री खनालसँग भेटवार्ता

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी देशको वर्तमान आर्थिक अवस्था र अटोमोबाइल क्षेत्रका समस्याबारे विस्तृत छलफल गरेको छ ।

छलफलका क्रममा अध्यक्ष चौधरीले व्यवसायीहरूको सुरक्षा, शान्ति र अमनचयनलाई सबैभन्दा महत्वपूर्ण ठहर गर्दै सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए । उनले देशको अर्थतन्त्र खस्किँदै गएको भन्दै व्यवसायीहरूको मनोबल बढाउने नीतिहरू ल्याउन आग्रह गरे । साथै लगानीकर्ताहरू नेपालमा विश्वस्त हुन नसकेको, तोडफोडबाट भएको हानी नोक्सानीको बीमा रकम तत्काल वितरण गर्नुपर्ने र नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ कार्यान्वयनपछि सवारीसाधनको मूल्य बढ्ने स्थितिबारे समेत ध्यानाकर्षण गरे ।

यस क्रममा चौधरीले नाडाको क्षमताबारे सरकारलाई यथार्थ जानकारी गराउँदै अटोमोबाइल क्षेत्रले भन्सार राजस्वमा २७ प्रतिशत योगदान दिँदै आएको उल्लेख गरे । साथै नाडाले सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको र अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन २२ बुँदे सुझाव समेत पेश गरिएको जानकारी दिए ।

विशेष गरी पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनका लागि बैंकहरूले प्रवाह गर्ने खुद्रा ऋण Loan to Value Ratio  को सीमा हालको ६० प्रतिशतबाट ८० प्रतिशत पुर्‍याउनुपर्ने माग पनि नाडाले गरेको छ । सो अवसरमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले तातोपानी भन्सार अवरुद्ध हुँदा सवारीसाधन आयात प्रभावित भएको उल्लेख गर्दै छिट्टै समाधान गर्ने आश्वासन दिए । साथै प्रदूषण मापदण्ड २०८२ कार्यान्वयनले परेको असरबारे वातावरण मन्त्रालयसँग छलफल गर्ने बताए ।

अन्त्यमा अर्थमन्त्री खनालले नाडाले प्रस्तुत गरेका सुझावलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र आन्दोलनबाट भएको नोक्सानीको तथ्याङ्क संकलन गरी उचित कदम चालिने जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्थामार्फत व्यवसायीहरूलाई सहयोग पुर्‍याउने र कर सम्बन्धी प्रोत्साहन प्याकेजबारे मन्त्रिपरिषद्मा छलफल गरिने आश्वासन दिए ।

छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति लगायतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.