एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ असोज ७ देखि सुरु

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आफ्ना शेयरहरूको आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विशेष रूपमा शेयर छुट्याएर आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँमध्ये ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो । यसमा २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ ।

स्थानिय बासिन्दाहरूले चितवन जिल्ला, रत्ननगर नगरपालिकाका सबै वडाका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबरको ४ लाख ९७ हजार ९२ कित्ता शेयर विदेशमा रोजगार गर्ने नेपालीका लागि जारी गरिनेछ । कम्पनीले आफ्ना कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आवेदन एसवाई प्यानल नेपाल, रत्ननगर, प्रभु क्यापिटल, कमलादी अनलाइन लिंक तथा प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट दिन सक्नेछन्। दरखास्त फाराम शुल्क २ रुपैयाँ रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मार्फत सीआस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यस आईपीओलाई “डबल बी” रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

You might also like

Comments are closed.