काठमाडौं । प्रयोग भइसकेका सवारी साधनको सर्वाधिक विश्वसनीय विक्रेता रेसिङ अटोमोबाइल्सले आज पत्रकार भेटघाटको अवसरमा ग्राहकको विश्वास जित्न नयाँ पहलको घोषणा गरेको छ। कम्पनीले आफ्नो व्यापारिक दृष्टिकोणमा पारदर्शिता र विश्वसनीयतालाई प्राथमिकता दिने उद्देश्यसहित ‘No Accidental Records’ प्रमाणपत्र सेवा सुरु गरेको छ ।
कार्यक्रममा कम्पनीले हालैको राजनीतिक संकट र नयाँ पुस्ताले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्ति कामना गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । यसैसाथ, आन्दोलनका क्रममा भएको जनधनको क्षति, व्यवसायिक प्रतिष्ठानहरूमा भएको लुटपाट र आगजनी, तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीलाई दुःखद घटनाको रूपमा व्याख्या गर्दै रेसिङ अटोमोबाइल्सले सबै पीडितको दुख र पीडा साझा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीका प्रतिनिधिहरूले भने कि समय-समयमा नेपालमा यस्ता अप्रत्याशित घटनाहरू घट्दै आएका छन्, तथापि निजी क्षेत्रका व्यवसायीहरू कहिल्यै हारेका छैनन् । कठिन परिस्थितिमा पनि नयाँ जोश, योजना, आशा र विश्वासका साथ जिम्मेवारी निर्वाह गर्न व्यवसायीहरूले कुनै पनि परिस्थितिमा विचलित नहुनुपर्ने कुरा आफूहरूले बुझेको बताएका छन् । ग्राहकसँगको विश्वास कायम राख्न र गुणस्तरीय सेवा दिन निजी क्षेत्रका व्यवसायीहरू सधैं चुनौतीको सामना गर्दै आएका छन् ।
रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको व्यापारमा विश्वसनीयता र पारदर्शिता सुनिश्चित गर्न ‘No Accidental Records’ प्रमाणपत्र सेवा सुरु गरेको छ । यस प्रमाणपत्रको मुख्य उद्देश्य दुईवटा रहेको छ। पहिलो, धेरै ग्राहकहरूले पुराना गाडीहरू गम्भीर दुर्घटनामा परेको र गुणस्तरमा कमी हुने धारणा राख्ने भएकाले यस गलत बुझाइ हटाउने । दोस्रो, बिक्री गरिएका गाडीहरू कुनै दुर्घटनामा परेको छैन भन्ने पूर्ण जानकारी ग्राहकलाई उपलब्ध गराउने । भविष्यमा यदि प्रमाणित रूपमा गाडी बिक्रीको मिति भन्दा पहिले दुर्घटनामा परेको प्रमाण प्राप्त भएमा कम्पनीले सो गाडीको खरिद मूल्य फिर्ता गर्ने र नगद फिर्ता गर्ने ग्यारेन्टी दिनेछ । यसरी कम्पनीले कुनै भ्रमपूर्ण वा झूटा जानकारी नदिने उद्देश्यसहित ग्राहकसँगको विश्वास कायम राख्ने जनाएको छ ।
त्यस्तै, रेसिङ अटोमोबाइल्सले आफ्नो नयाँ ‘प्रमोशनल जिङ्गल’ पनि सार्वजनिक गरेको छ । यो जिङ्गल विभिन्न सामाजिक सञ्जाल, रेडियो र अन्य श्रव्य माध्यमबाट प्रसारण गरिनेछ। जिङ्गलमार्फत कम्पनीले आफ्नो व्यवसायिक मान्यताहरू, गाडीको गुणस्तर र ग्राहक विश्वासप्रति गरेको प्रतिबद्धता प्रचार गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा कम्पनीले भने कि सरकारले आजको दिनलाई शोकको दिनको रूपमा सार्वजनिक विदा दिएको भए पनि आश्विन १ गते विश्वकर्मा पूजाको अवसरमा विभिन्न यन्त्र, मिसिनरी र सवारी साधनको पूजा गर्ने परम्परा अनुसार पूर्वनिर्धारित कार्यक्रम अघि बढाइरहेका छन् । राष्ट्रिय शोकको यो घडीमा पनि कम्पनी कार्यक्रम सञ्चालनमा अघि बढाएको र उपस्थित सबैलाई स्वागत तथा धन्यवाद प्रकट गरेको छ।
रेसिङ अटोमोबाइल्सका अधिकारीहरूले भविष्यमा पनि पुराना गाडीहरूको व्यापारमा पारदर्शिता, गुणस्तरीय सेवा र ग्राहक विश्वास कायम राख्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस पहलमार्फत कम्पनीले नेपालमा रिकन्डिसन व्यवसायलाई अझ विश्वसनीय र भरपर्दो बनाउन योगदान दिने उद्देश्य राखेको छ ।





Comments are closed.