नारायणी डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद शेयर निष्काशन खुला गर्यो

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले आज (असोज २ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

यसअन्तर्गत हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गरिनेछ, जसको कुल मूल्य २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ हुनेछ ।

हकप्रद प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो । सोही आधारमा भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । आवेदन दिने म्याद असोज २२ गतेसम्म रहनेछ ।

हकप्रद निष्काशनका लागि इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग सी प्लस प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा धेरै उच्च जोखिम रहेको संकेत गर्दछ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही (नवलपरासी) शाखा, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट प्रत्यक्ष आवेदन दिन सक्नेछन् । त्यस्तै, आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने छ।

हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँटपछि चुक्ता पूँजी बढेर ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशनबाट संकलन भएको रकम बैंकले धितोपत्र, सरकारी ऋणपत्र, म्युचुअल फण्डमा लगानी गर्ने साथै भौतिक पूर्वाधार निर्माण र शाखा विस्तारमा प्रयोग गर्ने जनाएको छ ।

You might also like

Comments are closed.