पोखरा । टाटा मोटर्सको बिक्रेता सिप्रदी ट्रेडिङ, नाडा र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) कार्यालयको सहकार्यमा पोखराको पृथ्वीचोक र बाग्लुङ बसपार्कमा स्थापना गरिएको भाडादरसहित यात्रु सहायता कक्ष शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
वाडा अध्यक्ष दिपेन्द्र कोईरालाले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुलाई उचित जानकारी, सहजीकरण र भाडादर सम्बन्धी स्पष्टता दिन सहायता कक्ष स्थापना गरिएको बताए । उनले नजिकिँदै गरेको दशैं–तिहार पर्वमा आवतजावत गर्ने यात्रुहरूको सहजताका लागि हेल्प डेस्क विशेष उपयोगी हुने उल्लेख गरे ।
उक्त कक्षको औपचारिक हस्तान्तरण कास्की प्रहरी इन्स्पेक्टर शोभा पाण्डेलाई गरिएको हो । कार्यक्रममा बोल्दै उनले यातायात प्रणालीमा पारदर्शिता र यात्रुको सहजतालाई प्राथमिकता दिनुपर्ने बताउँदै यस्तो सहयोगी पहलले यात्रुमा विश्वास बढाउने विश्वास व्यक्त गरिन् । साथै, भाडादर नियमन र यात्रु सुविधाका लागि प्रहरी सदैव तत्पर रहने प्रतिबद्धता पनि जनाइन् ।
स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरूले पृथ्वीचोक र बाग्लुङ बसपार्क जस्ता मुख्य केन्द्रमा सहायता कक्ष सञ्चालनमा आएपछि यात्रुहरूले अझ सहज र सुरक्षित यात्रा अनुभव गर्ने विश्वास व्यक्त गरेका छन् ।
Comments are closed.