दसैं नजिकिँदै काठमाडौंबाट गाउँ फर्किनेको भीड बढ्दै

काठमाडौं ।  दशैंको जमरा राख्ने तयारी सुरु भएसँगै काठमाडौं उपत्यकाबाट मानिसहरू गाउँतर्फ लस्करै फर्किन थालेका छन् । वर्ष दिनपछि घर आँगनमा पुग्ने यात्रुहरूको चहलपहल राजधानीको सडकदेखि बसपार्कसम्म देखिन थालेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा करिब ४३ हजार यात्रु काठमाडौं छाडेर बाहिरिएका छन् भने आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म करिब २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।

घटस्थापनादेखि नै कलेज, निजी कार्यालय र विद्यालयहरूमा बिदा सुरु भइसकेकाले गाउँ फर्किनेको लहर तीव्र भएको ट्राफिक प्रहरीले जनाएको छ। सरकारले भने दशैंको सार्वजनिक बिदा फूलपातीदेखि दिने व्यवस्था गरेको छ । गत भदौ २३ र २४ गते राजधानीमा भएको जेनजी आन्दोलनपछि केही समय सुरक्षाको चासो देखिए पनि अहिले अवस्था सामान्य बन्दै गएको छ।

यस कारण पनि दशैं मनाउन गाउँ फर्किनेहरूको संख्या थप बढ्ने अनुमान गरिएको छ । हाल उपत्यकाका प्रमुख नाका र नयाँ बसपार्क क्षेत्र सामान्य अवस्थामै रहेको छ । यद्यपि, नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोका कारण ४० घण्टासम्म सडक अवरुद्ध हुँदा सवारी चाप केही बढेको थियो ।

अहिले सडक खुलिसकेको र विस्तारै आवागमन सहज बन्दै जाने ट्राफिक अधिकारीहरूले जानकारी दिएका छन् । दसैंको सुरुवातसँगै राजधानीको भीड बिस्तारै गाउँतर्फ सर्दैछ । टीकाको आशिष, ममताको काख र बाल्यकालका सम्झनालाई भेट्न लाखौं पाइलाहरू राजधानीको सडकबाट बिस्तारै छुट्दैछन् ।

You might also like

Comments are closed.