देशभर ६ राजमार्ग ठप्प, कुन राजमार्ग कहिले खुल्छ ?

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६९ सडकखण्डमा मात्र एकतर्फी यातायात सञ्चालनमा छ । सडक विभागका अनुसार द्रुत गतिमा सुधार र मर्मत कार्य भइरहे पनि दशैं नजिकिँदै गर्दा यात्रुहरू अझै असुविधामा परेका छन् ।

अरनिको राजमार्ग साँझसम्म खुल्ने

विभागका प्रवक्ता प्रभातकुमार झाले काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) मा मर्मतकार्य तीव्र भइरहेको बताउँदै आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए ।

अवरुद्ध रहेका राजमार्ग

अहिले ठप्प रहेका राजमार्गमा प्रमुख रूपमा यी सडकखण्डहरू छन्

ठोरी–भण्डारा–मलेखु

गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी

रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले

लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग)

चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर)

काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी  (अरनिको राजमार्ग)

यीमध्ये कोशी र अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । कोशी राजमार्गमा वरुण नदीमा बनाइएको डाइभर्सन बगाएको र पुल निर्माण अपूरो रहेकाले अझै सञ्चालन सम्भव भएको छैन ।

बाढीले संरचना बगायो, काम पुनः सुरु

तमोर नदीमा बनेको बेलिब्रिज साउन ६ गतेको बाढीले बगाएपछि यातायात पूर्ण रूपमा रोकिएको छ । रेमिट हाइड्रोमार्फत अस्थायी पुल पुनःनिर्माणको पहल भइरहेको विभागले जनाएको छ । चीनतर्फबाट आएको ठूलो बाढीले पनि ठोरी–मलेखु हुँदै रसुवागढीसम्मका सडक अवरुद्ध पारेको छ ।

चाडपर्व नजिकिँदै यात्रुहरू अलपत्र

दशैं नजिकिँदै गर्दा उपत्यका भित्रिने र बाहिरिने यात्रुको चाप बढ्दो छ । तर राजमार्ग ठप्प हुँदा यात्रुहरू लामो जाम र असुविधामा परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वलाई लक्षित गरी सडक सुधारको काम छिटो गर्न सरकारसँग आग्रह गरेका छन् ।

सडक सुधार अभियान

सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माका अनुसार देशभर चार लाख वर्ग मिटर खाल्टाखुल्टी पुर्नुपर्ने देखिएको छ । उनले दसैं लक्षित सुधार अभियानअन्तर्गत बढी चाप हुने राजमार्गलाई प्राथमिकता दिएर काम भइरहेको बताए ।

You might also like

Comments are closed.