भाटभटेनीमा आगजनी र लुटपाटः झण्डै ११ अर्बको क्षति

काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड सुपर स्टोर प्रालिका बिक्री केन्द्र र गोदाम घरमा भदौ २४ गते भएको हुलदङ्गामा आगजनी र लुटपाटका कारण झण्डै ११ अर्ब रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार प्रारम्भिक मूल्याङ्कनमा करिब १० अर्ब ८५ करोड रुपैयाँको क्षति भएको देखिएको छ । सुपरस्टोरको भवन, गोदाम र मालसामानमा भएको तोडफोड, लुटपाट र आगलागीबाट यो क्षति भएको हो । गुरुङले क्षतिको यकिन रकम सर्वेयरमार्फत मूल्याङ्कन पूरा भएपछि मात्र सार्वजनिक गर्ने बताए ।

उनी अनुसार काठमाडौंको चाबहिल बाहेकका सुपरस्टोर चार महिनाभित्र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने योजना बनाइएको छ । तर, चाबहिल–बौद्ध सुपरस्टोरमा भीषण आगलागीका कारण संरचनै भत्काउनुपर्ने देखिएकोले पुनर्निर्माणमा लामो समय लाग्ने अनुमान गरिएको छ ।

जेन जेड आन्दोलनको आडमा भएको हुलदङ्गाका क्रममा भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको छ। यस्तै ९ शाखामा तोडफोड र लुटपाट भएको छ । क्षतिग्रस्त शाखामध्ये धरान, बिर्तामोड, विराटनगर, दमक, भरतपुर, हेटौंडा, पोखरा, नक्साल सुपरस्टोर, नक्साल गोदाम, महाराजगञ्ज, बौद्ध र कोटेश्वर पर्दछन् ।

हाल उपत्यकाभित्र सातदोबाटो, सानागाउँ, पाटन, टोखा, अनामनगर, त्रिपुरेश्वर, कलंकी, राधेराधे भक्तपुर र बालाजुका सुपरस्टोर सञ्चालनमा रहेका छन् । उपत्यका बाहिर वीरगञ्ज, जनकपुर, इटहरी, बुटवल, भैरहवा, नेपालगञ्ज र धनगढीका सुपरस्टोर सामान्य अवस्थामै सञ्चालन भइरहेको छ ।

भाटभटेनी सुपरमार्केटले दैनिक उपभोग्य सामानदेखि सुनचाँदी, कपडा र घरायसी प्रयोजनका विद्युतीय उपकरणहरू एउटै छानामुनि बिक्री गर्दै आएको छ । यस घटनामा मानवीय क्षति पनि भएको छ । बौद्ध सुपरस्टोरमा ६, धरानमा ४, विराटनगरमा १ र कोटेश्वरमा १ जनाको डढेको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकमध्ये धेरैको पहिचान हुन बाँकी छ भने उनीहरू लुटपाटमा संलग्न भएको आशंका गरिएको छ ।

देशभर २८ शाखा सञ्चालित भाटभटेनीमाथि हाल करिब १७ अर्ब रुपैयाँ बैंक ऋणको भार रहेको अध्यक्ष गुरुङले जानकारी दिए । उनले ठूलो क्षति भए पनि कर्मचारी, ग्राहक र बैंक प्रतिको दायित्वकै कारण आफूले हिम्मत नहारेको बताउँदै, भाटभटेनीलाई छिट्टै पुनःसञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.