काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले भोलि असोज ७ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) खुला गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गर्न लागेको हो ।
यसअघि कम्पनीले भदौ २९ गतेदेखि निष्काशन गर्ने तयारी गरे पनि देशको विषम परिस्थितिका कारण मिति पर सारिएको थियो । कम्पनीको जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ रहेको छ । यसमध्ये ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त छ ।
जसमध्ये २ प्रतिशत अर्थात २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला हुनेछ । साथै कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित राखिएको छ ।
आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म दिन सकिनेछ। निष्काशन बन्द हुने अन्तिम मिति भने कम्पनीले तोकेको छैन । यस आइपीओका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले एसवाई प्यानल नेपाल, रत्ननगर चितवन, प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट आवेदन दिन सक्नेछन् । साथै अनलाइन लिंकमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन् ।
Comments are closed.