शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीलाई मन्त्री सिंह आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनील कुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उनले जेन–जेड आन्दोलनमा सहादत प्राप्त गरेका र घाइते भएका व्यक्तिहरुको परिवारलाई रोजगारीको अवसर दिनसके उनीहरुको जीवन केही सहज हुने बताए ।

मन्त्री सिन्हा उद्योगसँगै कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका छन् । उनले यस विषयमा उद्योगी व्यवसायीसँग चाँडै छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले युवाको सिप विकासलाई प्राथमिकता दिने उल्लेख गर्दै वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर देशभित्रै रोजगार दिलाउने वातावरण निर्माण गर्नेमा जोड दिने बताए । “जो अहिले सहादत प्राप्त गर्नुभएको छ, घाइते हुनुहुन्छ, उहाँहरुको परिवारलाई रोजगारी दिने वातावरण बनाउन उद्योगी व्यवसायीलाई म आग्रह गर्दछु,” उनले भने ।

मन्त्री सिन्हाले सरकारी निकायमा फर्निचरलगायत निर्माण सामग्री स्वदेशमै उत्पादन भएका प्रयोग गर्न प्राथमिकता दिने तथा अत्यावश्यक बाहेक अन्य सेवामा नागरिकलाई कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गरेको जानकारी समेत दिए ।

You might also like

Comments are closed.