शिव श्री हाइड्रोपावरको हकप्रद शेयर आवेदन अवधि असोज २३ सम्म बढाइयो

 काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि असोज २३ गतेसम्म थप गरेको छ । कम्पनीले १ कित्ता बराबर १ कित्ता अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गरी कुल १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ ।

यसका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखाबाट वा सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।  हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद बाँडफाँटपछि २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम कम्पनीले बैंक ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ ।

You might also like

Comments are closed.