धितोपत्र बोर्ड र नेप्से कर्मचारीको आन्दोलन १४ औं दिनमा, कामकाज ठप्प

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरूले दशैँ अघिदेखि सुरु गरेको आन्दोलन सोमबार १४ औं दिनमा प्रवेश गरेको छ। कार्यालय खुलेसँगै कर्मचारीहरूले पुनः ब्यानरसहित विरोध प्रदर्शन गरेका छन ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी संघको फेसबुक पेजमा लेखिएको छ, “आज १४ औँ दिन। नेपाल धितोपत्र बोर्डमा कर्मचारीहरूको विरोध कार्यक्रम”। संघका अध्यक्ष अजय ढुङ्गानाका अनुसार, आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी रहने छ ।

सेवोनका कर्मचारीहरू अर्थ मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध उत्रिएका हुन् । मन्त्रालयले कर्मचारी कल्याण कोष र सुरक्षा कोषबाट लिइएका सुविधा फिर्ता गर्न, अवैतनिक सेवा कटौती गर्न, र अवकाशप्राप्त तथा मृत कर्मचारीहरूका सुविधा खारेज गर्न निर्देशन दिएको थियो। कर्मचारीहरूले उक्त निर्णयलाई गैरकानुनी र अव्यवहारिक भनेका छन् ।

उनीहरूको माग छ कि मन्त्रीस्तर वा सचिवस्तरको निर्णयबाट कानुनी रूपमा स्थापित सुविधा खारेज गर्न नपाइयोस्, र बोर्डको स्वायत्तता कायम रहोस् ।  सोमबार पनि सेवोनका कर्मचारीहरूले सबै कामकाज ठप्प पार्दै विरोध कार्यक्रम जारी राखेका छन् । उता, नेप्सेका कर्मचारीहरू सुरुवाती चरणमा पाँच प्रतिशत बोनसको माग गर्दै आन्दोलनमा उत्रिएका थिए। तर पछिल्लो समय उनीहरूले आफ्नो माग परिमार्जन गर्दै नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को राजीनामा माग गरेका छन् । नेप्से कर्मचारी युनियनका अध्यक्ष नवराज थापाका अनुसार, सोमबार पनि कर्मचारीहरूले कालोपट्टी बाँधेर विरोध प्रदर्शन जारी राखेका छन् ।

धितोपत्र बजार नियामक निकाय र स्टक एक्सचेन्जका प्रमुख कर्मचारीहरू निरन्तर आन्दोलित हुँदा बजारमा समग्र निष्पक्षता, सेवा प्रवाह तथा लगानीकर्ताको भरोसामा असर पर्ने देखिएको छ । सरकार र सम्बन्धित निकायहरूबीच समाधानको पहल नभएसम्म आन्दोलन लम्बिने देखिएको छ।

You might also like

Comments are closed.