काठमाडौं । गत असोज १८ गतेको अविरल वर्षापछि आएको बाढीका कारण पूर्वी नेपालका विभिन्न जलविद्युत् आयोजना बन्द भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालले दिएको प्रारम्भिक विवरणअनुसार, कुल ११३ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनाहरू सञ्चालन बाहिर गएका छन् । बाढीका कारण आयोजनामा संरचनात्मक क्षति पुगेको र नदीको बहाव अत्यधिक बढेकाले विद्युत् उत्पादन ठप्प भएको हो ।
इप्पानका अनुसार, सबैभन्दा बढी क्षति इलाम जिल्लाका जलविद्युत् आयोजनाहरूमा भएको छ। तीमध्ये अधिकांश आयोजना साना तथा मध्यम क्षमताका निजी क्षेत्रका हुन्। बाढीका कारण बालुवा, माटो र ढुंगा जाम हुँदा प्रसारण प्रणालीमा अवरोध आएको छ भने कतिपय आयोजनाका पावर हाउस र जलाशयसमेत क्षतिग्रस्त भएका छन् ।
बन्द भएका आयोजना मध्ये माइखोला हाइड्रोपावर (४.५ मेगावाट), माइखोला क्यासकेड (८ मेगावाट), माइखोला (२२ मेगावाट), सुपरमाइ (७.८ मेगावाट), सुपरमाइ ए (९.६ मेगावाट), जोगमाइखोला (७.६ मेगावाट), माइबेनी हाइड्रोपावर (९.५ मेगावाट), पुवा २ (४.९६ मेगावाट) लगायतका आयोजनाहरू छन् । यीमध्ये अधिकांश आयोजना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूद्वारा सञ्चालित छन् ।
बाढीले जलविद्युत् उत्पादनमा आएको यस अवरोधले राष्ट्रिय ग्रिडमा आपूर्ति हुने विद्युत् परिमाणमा तत्काल प्रभाव परेको छ । यद्यपि नेपाल विद्युत प्राधिकरणले अन्य स्रोतबाट आपूर्ति सन्तुलनमा राख्ने प्रयास गरिरहेको जनाएको छ ।
इप्पानले आयोजनामा पुगेको क्षतिको विस्तृत विवरण संकलनको कार्य जारी रहेको बताएको छ । साथै, क्षतिपछि पुनः निर्माण तथा मर्मतका लागि सरकारी सहयोग आवश्यक रहेको पनि इप्पानले स्पष्ट पारेको छ। संस्था तथा लगानीकर्ताहरूले दीर्घकालीन पूर्वाधार संरक्षण रणनीति बनाउन सरकारसँग माग गरेका छन्।
Comments are closed.