पोखरा । पोखराको निजी क्षेत्रले वर्तमान सरकारसँग दण्डहीनताको अन्त्य, दोषीमाथि कारबाही, फागुन २१ मा तोकिएको निर्वाचनको सुनिश्चितता, व्यवसायिक वातावरण निर्माण र निषेध–प्रतिशोधको राजनीति अन्त्य गर्न आग्रह गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको ‘उद्योगी–व्यवसायीमाथि आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।
संघका अध्यक्ष गोकर्ण कार्कीले जेन–जी आन्दोलनका क्रममा उद्योग र व्यवसायमाथि भएको आक्रमणले ‘व्यवसाय गरेर नाफा कमाउनु अपराध हो’ भन्ने गलत भाष्य फैलाउन खोजिएको आरोप लगाए। उनले भने, ‘के जोखिम मोलेर लगानी गर्नु, रोजगारी सिर्जना गर्नु र कर तिर्नु अपराध होरु यस्तो मानसिकता बदल्नैपर्छ।’
कार्कीले आन्दोलनका मागहरूसँग निजी क्षेत्र सहमत भए पनि त्यसको नाममा गरिएको आगजनी, लुटपाट र तोडफोड अपराध भएको बताए। ‘अपराधलाई क्रान्तिको लेपन लगाउन मिल्दैन,” उनले चेतावनी दिए, “सरकारले अपराधीमाथि कडाभन्दा कडा कारबाही गरी पीडित व्यवसायीलाई राहत दिनुपर्छ।’
अध्यक्ष कार्कीले निजी क्षेत्रले शासनसुधार, पारदर्शिता र लगानीमैत्री वातावरणको माग गर्दै आएको स्मरण गराउँदै भने, ‘निजी क्षेत्रमाथि मानसिक र भौतिक दुवै खालका आक्रमण हुन नदिनु सरकारले सुनिश्चित गर्नुपर्छ ।’
कार्यक्रमका प्रमुख वक्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले देशमा निषेध र प्रतिशोधको राजनीति सुरु भएको भन्दै समयमै चुनाव गर्नैपर्ने धारणा राखे। ‘चुनाव नहुँदा देश अराजकतामा जान सक्छ । निजी क्षेत्रको सुरक्षाका लागि स्थायित्व अपरिहार्य छ,’उनले भने ।
मुल्मीले जेन–जी आन्दोलनपछि देशको उत्पादन र वितरण प्रणाली कमजोर भएको बताउँदै दण्डहीनता र उन्मुक्ति संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिए । उनका अनुसार, “अपराधीलाई उन्मुक्ति दिँदा सुरक्षाको प्रत्याभूति हुन सक्दैन, त्यसैले सरकारले कानूनी शासन कायम गर्नुपर्छ ।”
कार्यक्रममा बोल्दै होटल सरोवरका सञ्चालक प्रतिकराज पहारीले आफ्नो होटलमा भएको आगजनी र लुटपाटको घटनाको स्मरण गर्दै, ‘होटल जल्नु भन्दा ठूलो पीडा व्यवसाय गर्ने सोच नै जलाइएको हो । यस्तो अन्याय रोक्न राज्य जिम्मेवार हुनुपर्छ।, विदेशी लगानीकर्तालाई आकर्षित गर्नु अघि स्वदेशी लगानीकर्तालाई सुरक्षित र प्रेरित गर्न आवश्यक छ। उत्पादन र रोजगारी सिर्जना नै विकासको आधार हो ।’
त्यस्तै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले अपराधमा संलग्नहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् । पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले अराजकता पुनः दोहोरिन नदिन सुरक्षा निकाय सशक्त हुनुपर्ने बताए ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र कास्की हस्तकला संघकी अध्यक्ष सीता गुरुङले व्यवसायमा भएको क्षतिको शीघ्र राहत र पुनर्स्थापनाको माग गरे ।
कार्यक्रमको सञ्चालन महासचिव शोभा गौतमले गरेकी थिइन् । पोखरा उद्योग वाणिज्य संघले अन्त्यमा सरकारसँग व्यवसायीहरूको सुरक्षाको ग्यारेन्टी, फागुन २१ मा हुने चुनावको तयारी र निषेधको राजनीतिबाट देशलाई मुक्त गर्ने वातावरण सृजना गर्न माग गरेको छ ।
Comments are closed.