वीरगञ्ज । पर्सा जिल्लामा गत आर्थिक वर्षमा ९६३ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ६६ ले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा ८९७ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय, पर्सा का प्रमुख उद्योग अधिकृत पवन पञ्जीयार का अनुसार जिल्लामा उद्योग दर्ता हुने दर उत्साहजनक रहेको छ। उनले भने, “यहाँका महिला र पुरुष दुबै पक्षले नयाँ उद्यमशीलताको विकासका लागि अग्रसरता देखाइरहनुभएको छ। आर्थिक नगरी भएकाले पनि नयाँ उद्योग दर्ता गर्नेको संख्या बढेको हो ।”
कार्यालयका अनुसार गत आवमा वाणिज्यतर्फ ७५८ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये प्राइभेट फर्म ८८८ वटा, साझेदारी उद्योग १५ वटा र प्राइभेट लिमिटेड कम्पनी ६० वटा रहेका छन् ।
त्यस्तै, अघिल्लो वर्षको तुलनामा प्राइभेट फर्मतर्फ वाणिज्यमा ७५३ फर्म र साझेदारी फर्ममा ५ फर्म दर्ता भएका थिए । प्रमुख उद्योग अधिकृत पञ्जीयारका अनुसार गत आवमा जिल्लामा १,५९८ वटा फर्मले नवीकरण गरेका छन् । तीमध्ये १,३९२ वटा वाणिज्य क्षेत्रका फर्म हुन्। त्यसैगरी, २१० उद्योगको दर्ता खारेजी भएको पनि उनले जानकारी दिए ।
जिल्लामा घरेलु तथा साना उद्योग दर्ता बढ्नु आर्थिक क्रियाशीलता र उद्यमशीलताको वृद्घिको सकारात्मक संकेतका रूपमा लिइएको छ ।
Comments are closed.