काठमाडौं । हालै देशभर भएको आन्दोलनका क्रममा परेका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
बीमा प्राधिकरणलाई प्राप्त विवरणअनुसार बुधबार (असोज २२ गते ) सम्ममा १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा दर्ता भएका ३ हजार ९९ वटा बीमा दाबीको जम्मा रकम करिब रू २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो ।
तीमध्ये बुधबारसम्ममा निर्जीवन बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित करिब रू १ अर्ब २९ करोड १९ लाख रकम भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ ।
बीमा कम्पनीहरूले क्षतिको वास्तविक मूल्याङ्कनका लागि हालसम्म २ हजार ७०६ सर्भेयर खटाएका छन् । तीमध्ये ३७४ सर्भेयरले आफ्नो प्रतिवेदन पेश गरिसकेको र बाँकी सर्भे कार्य जारी रहेको जानकारी प्राप्त भएको छ ।
बीमा क्षेत्रका विज्ञहरूले आन्दोलनका क्रममा भएको ठूलो क्षतिको दाबी रकमले बीमा कम्पनीहरूको वित्तीय व्यवस्थापनमा समेत प्रभाव पार्ने बताउँदै, सर्भे प्रतिवेदन र भुक्तानी प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न आग्रह गरेका छन् ।
Comments are closed.