नेपाल वित्तीय संस्था कर्मचारी संघद्वारा बीमा बोर्डको निर्णय फिर्ता लिन माग

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड (केन्द्रीय समिति) ले बीमा बोर्डले हालसालै लिएको निर्णयको विरोध गर्दै तत्काल फिर्ता लिन माग गरेको छ ।

संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा बोर्डले सार्वजनिक संस्थानका कर्मचारीहरूलाई दिइँदै आएको सेवा–सुविधा कटौती गर्ने निर्णय गरेकामा आपत्ति जनाउँदै त्यसले कर्मचारीको मनोबलमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “वित्तीय संस्थासम्बन्धी ऐन, २०५३ र त्यसअनुसार बनेका नियमावलीका प्रावधान विपरीत बीमा बोर्डले कर्मचारीको हक–अधिकार हरण गर्ने गरी गरेको निर्णयले श्रमिक वर्गमाथि कुठाराघात पुगेको छ ।”

संघले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का मापदण्डअनुसार न्यायोचित सुविधा र श्रम अधिकार सुनिश्चित गर्नुपर्ने र राज्यका स्वामित्वका संस्थामा कार्यरत कर्मचारीहरूलाई अन्यायपूर्ण व्यवहार नगर्न आग्रह गरेको छ ।

संघले नेपाल बीमा प्राधिकरण, नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग बोर्डको निर्णय पुनःविचार गर्न माग गर्दै भनेको छ, “यो निर्णयले कर्मचारीको मनोबल कमजोर बनाउने मात्र होइन, संस्थाको विकास र उत्पादनशीलता पनि घटाउनेछ ।”

संघका महासचिव कृष्ण प्रसाद पाखुरेल र कार्यवाहक अध्यक्ष अनुप पराजुली द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा, निर्णय कार्यान्वयन भएमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिइएको छ ।

You might also like

Comments are closed.