काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलनलाई सहज र निरन्तर बनाउन शनिबार पनि आरटीजीएस (Real Time Gross Settlement) प्रणाली सञ्चालनमा रहने जनाएको छ ।
केन्द्रीय बैंकले आज जारी गरेको सूचनामा आउँदो शनिबार, असोज २५ गते, आरटीजीएस प्रणाली सुचारु रहने उल्लेख गरिएको छ। यस दिन उक्त सेवा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म अर्थात् १२ घण्टा सञ्चालनमा रहनेछ ।
राष्ट्र बैंकका अनुसार राजस्व संकलन र सरकारी भुक्तानी प्रक्रियामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत आरटीजीएस सेवा खुला राखिएको हो । आरटीजीएस प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थाहरूले ठूलो रकमको भुक्तानी तुरुन्तै निपटान गर्न सक्ने हुँदा यो प्रणाली सरकारी कारोबार र राजस्व संकलनमा महत्वपूर्ण माध्यम बनेको छ ।
यसअघि पनि विशेष अवसर वा आवश्यकीय अवस्थामा नेपाल राष्ट्र बैंकले शनिबार आरटीजीएस सञ्चालनमा ल्याउने गरेको छ । केन्द्रीय बैंकले सेवा प्रयोगकर्तालाई समयसीमा भित्र कारोबार पूरा गर्न आग्रह गरेको छ ।
Comments are closed.