काठमाडौंका यी ३२ स्थानबाट तिहारको फूलमाला बिक्री गर्न सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूलमाला बिक्री र वितरणका लागि ३२ स्थान तोकेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरले बजारलाई व्यवस्थित बनाउन र नेपाली उत्पादनलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरेको हो ।

महानगरका अनुसार यी सबै ३२ स्थानहरूमा केवल नेपालमै उत्पादन भएका फूल र मालाहरू बिक्री गर्न पाइनेछ । यसले भारतीय र अन्य देशका आयातित फूलमालाको विकल्पका रूपमा स्थानीय कृषक र उद्यमीलाई बजार सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार यी बिक्री वितरण केन्द्रहरू नयाँ बानेश्वर, शंखमुल, मध्यबानेश्वर, बत्तिसपुतली, तिनकुने, सिफल, चावहिल, स्वयम्भु, कालीमाटी, कलंकी, नयाँ बजार, माछापोखरी, हाँडिगाउँ, सामाखुसी, महाराजगञ्ज, गोंगबु, चपलकारखाना, बालुवाटार, कामलादी, पुतलीसडक, अनामनगर, टेवल मन्दिर, सुन्धरा, वडा नं। २८ अद्वेतमार्ग र न्यूप्लाजाजस्ता प्रमुख स्थानमा स्थापना गरिनेछन् ।

पाण्डेले छिमेकी मुलुकबाट आउने अवैध फूलमालाको बिक्री–वितरणमा कडाइ गर्ने चेतावनी दिएका छन् । उनले भने, “स्थानीय कृषकले उत्पादन गरेका फूलहरूको बजार विस्तार र प्रचारप्रसारमा सबैले साथ दिनुपर्छ ।”

महानगरले यस वर्षको तिहारमा स्थानीय उत्पादनलाई प्राथमिकता, बजारको व्यवस्थापन, र विदेशी आयातमा नियन्त्रण गर्ने नीति लिएको जनाएको छ ।

You might also like

Comments are closed.