श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ (Initial Public Offering) निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

कम्पनीले कुल जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँमध्ये २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरका ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो। पहिलो चरणमा कम्पनीले १ लाख ६३ हजार १२५ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १ लाख २३ हजार ९७५ कित्ता शेयर आफ्ना कर्मचारीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गतेसम्म खुला रहनेछ।

आईपीओ निष्काशनको लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय स्थायित्व अझ सुदृढ बनाउने चुनौती रहेको देखाउँछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणाली मार्फत सजिलै आवेदन दिन सक्नेछन्।

You might also like

Comments are closed.