काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने सरकारी तयारी सुरु भएको बताएका छन् ।
आइतबार काठमाडौंको सञ्चारग्रामस्थित न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्दै मन्त्री खरेलले करार कर्मचारीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न तत्काल कदम चालिने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री खरेलले भने, “सरकारी सेवामा रहेका करार कर्मचारीहरूको पेन्सन लगायत सुविधा छैन। अन्य कर्मचारीहरू जस्तै उनीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्नु आवश्यक छ । यस विषयमा म सचिवज्यूसँग दुई हप्ताअघि नै छलफल गरिसकेको छु र अब व्यवहारिक रूपमा अगाडि बढाइरहेका छौँ ।”
उनले सामाजिक सुरक्षा कोषको दायरामा पत्रकार र सञ्चारकर्मीलाई समेत समेट्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । यस कार्यका लागि कम्तीमा एउटा फाउण्डेशन वा बेसलाईन स्थापना गर्ने योजना रहेको उनले जानकारी दिएका छन् ।
मन्त्री खरेलले थपे, “अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने काममा सरकारले जोड दिएको छ । यसले सबै श्रमिकलाई न्यूनतम सुरक्षा सुनिश्चित गर्नेछ ।”
Comments are closed.