काठमाडौं । आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने तयारी अघि बढाइएको छ । यस विषयमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रधानमन्त्री सुशीला कार्की बीच सिंहदरबारमा आइतबार छलफल भएको छ ।
निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्ने प्रस्ताव राखेको अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्। दाहालका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन समयमै गर्ने विषयमा सकारात्मक प्रतिक्रिया दिएकी छिन् र जेनजी युवाको सहभागिता सम्बन्धी विषयमा पनि चासो देखाएकी छिन् ।
कानुनअनुसार, आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल समाप्त हुँदैछ, जसमा १८ पदका लागि निर्वाचन र १ जना राष्ट्रपतिद्वारा मनोनीत सदस्यको स्थान रिक्त हुनेछ ।
आयोगलाई कानुनी बाध्यताअनुसार कार्यकाल समाप्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन सम्पन्न गर्नुपर्ने छ। त्यसैले माघ दोस्रो साताभित्र निर्वाचन गरिने तयारी गरिएको हो ।
आगामी फागुनमा बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी, जसपा र लोसपाका गरी एक–एक जना सांसद छन् ।
Comments are closed.