बागमतीमा ४३ शीर्षकमा बजेट कटौती, कुल ३ अर्ब ४७ करोड घटाइयो

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको कुल बजेटमा विभिन्न शीर्षकमा खर्च कटौती गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार ४३ शीर्षकमा क्रमशः ३०, ४० र ५० प्रतिशतसम्म बजेट कटौती गरिएको हो ।

असोज २ गते बसेको मन्त्रीपरिषद्को बैठकले खर्च कटौती गर्न समिति गठन गरेको थियो। समितिको अध्ययनपछि तालिम, बैठक, भ्रमण भत्ता, प्रोत्साहन तथा पुरस्कार लगायतका शीर्षकमा विनियोजन गरिएको बजेट कटौती गर्ने निर्णय भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री प्रभात तामाङका अनुसार कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको बजेटबाट ३ अर्ब ४७ करोड १२ लाख ३८ हजार रुपैयाँ कटौती हुने भएको छ ।

कटौती दर अनुसार ३० प्रतिशत शीर्षकबाट २ अर्ब ७६ करोड ९० लाख ३१ हजार, ४० प्रतिशत शीर्षकबाट ३६ करोड १३ लाख ७९ हजार र ५० प्रतिशत शीर्षकबाट ३४ करोड ८ लाख २८ हजार रुपैयाँ घटाइनेछ ।

कर्मचारी बैठक भत्ता र अन्य भत्तामा ५० प्रतिशत, प्रोत्साहन तथा पुरस्कारमा ३० प्रतिशत कटौती गरिने निर्णय गरिएको छ । अर्थमन्त्री तामाङले भने, “प्रदेशको वित्तीय अनुशासन कायम राख्दै अनुत्पादक खर्चलाई नियन्त्रण गर्ने प्रयासका रूपमा खर्च कटौती गरिएको हो ।”

You might also like

Comments are closed.