बुद्ध एयर सञ्चालक वीरेन्द्र बस्नेतसहितको समूहले दर्ता गर्‍यो नयाँ पार्टी

काठमाडौं ।  नेपालको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले बिहीबार नयाँ राजनीतिक पार्टी दर्ता गरेको छ ।

निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’ राखिएको छ । पार्टीमा बस्नेत सदस्य रहेका छन् भने समाजशास्त्री दिनेश प्रसाईं अध्यक्ष छन्। महासचिवमा पियुषप्रसाद कायस्थ नियुक्त भएका छन् ।

पार्टीको विधान अनुसार पदाधिकारीहरूले चुनाव नलड्ने व्यवस्था गरिएको छ, तर सामान्य सदस्यले भने चुनावमा भाग लिन पाउनेछन् । गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा ५१७ नम्बरमा दर्ता भएको छ ।

पार्टीको दस्तावेज अनुसार यसले सुधार, सुशासन र आर्थिक उत्थानमा केन्द्रित नयाँ राजनीतिक विकल्प बन्ने दाबी गरेको छ । ‘हामी किन र हाम्रो प्रतिबद्धता’ शीर्षकको दस्तावेजमा पार्टीले आफूलाई सुधारवादी, पारदर्शी र जनमुखी शक्तिको रूपमा परिभाषित गरेको छ ।

गतिशील लोकतान्त्रिक पार्टीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक संरचनामा देखिएका कमजोरीलाई सम्बोधन गर्दै नयाँ पुस्ताको सोच र कार्यकुशल नेतृत्वमार्फत वैकल्पिक शक्ति बन्ने लक्ष्य राखेको जनाएको छ ।

You might also like

Comments are closed.