काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो कार्यकालमा जानबूझेर कुनै खराब काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यो कुरा उनले रेडियो नेपालका प्रथम गायक तथा ख्यातिप्राप्त रंगकर्मी, अभिनेता र गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानद्वारा सञ्चार सेवा सम्मानबाट पुरस्कृत भएपछि बताएका हुन् । मन्त्री खरेलले यस अवसरमा १ लाख रुपैयाँ र सम्मानपत्र प्राप्त गरे ।
मन्त्री खरेलले भने, “मैले जानेर बुझेर कुनै काम गर्ने छैन । राम्रो काम के कति गर्न सकिन्छ पाँच महिनापछि थाहा हुनेछ, तर खराब काम मबाट हुने छैन। मेरो कारणले खराब काम भयो भन्ने बनाउने छैन। मलाई नागरिक सरकारले मन्त्री बनाएको हो, तपाईंहरूले डोर्याएको बाटो हिँड्ने छु ।”
उनले थपे, “पाँच महिनापछि नै कामको परिणाम देखिने छ। जेनजी आन्दोलनले दिएको म्यान्डेट पुरा गर्नु मेरो दायित्व हो ।”
प्रतिष्ठानले मन्त्री खरेललाई सम्मान गर्ने निर्णय उनलाई मन्त्री बन्नु अघि नै गरेको थियो । असोज २ गते गर्ने भनिएको कार्यक्रम जेनजी आन्दोलनका कारण पछि सरेको थियो ।
त्यसैगरी प्रतिष्ठानले गायिका मिरा राणा र गायक धिरज राईलाई पनि जनही १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ ।








Comments are closed.