वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश बैंकको दर घट्यो

काठमाडौं । आगामी कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरूले असोज महिनाको तुलनामा ब्याजदर घटाएका छन् भने केहीले स्थिर दर कायम राखेका छन् ।

बैंकहरूको नयाँ दरअनुसार १४ बैंकले ब्याजदर घटाएका छन् भने करिब आधा दर्जन बैंकले असोजको दरलाई निरन्तरता दिएका छन् । यस महिनामा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ५.४६ प्रतिशतबाट घटेर ५.२० प्रतिशत पुगेको छ । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको दर पनि ०.२२ प्रतिशत बिन्दुले घटेर ३.६५ प्रतिशत कायम भएको छ।

कसले कति ब्याज दिने ?

माछापुच्छ्रे बैंकले कात्तिकमा व्यक्तिगत निक्षेपमा ५ प्रतिशत र संस्थागतमा ३ प्रतिशत ब्याज दिने भएको छ, जुन असोजमा क्रमशः ६ र ४ प्रतिशत थियो । एनएमबि बैंकले पनि व्यक्तिगतमा ५ प्रतिशत र संस्थागतमा ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नबिल बैंकले व्यक्तिगत तर्फ ४.९५ प्रतिशत र संस्थागत तर्फ ३.९२ प्रतिशत, प्राइम बैंकले व्यक्तिगतमा ५ प्रतिशत र संस्थागतमा २.७५ प्रतिशत, प्रभू बैंकले व्यक्तिगतमा ४.९५ प्रतिशत र संस्थागतमा २.७५ प्रतिशत, तथा सिटिजन्स बैंकले व्यक्तिगतमा ५ प्रतिशत र संस्थागतमा ३ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यसैगरी, लक्ष्मी सनराइज, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समान ५ प्रतिशत ब्याजदर दिएका छन् भने संस्थागतमा क्रमशः ४, ४ र ४.२५ प्रतिशत ब्याज दिने भएका छन् ।

एनआइसी एशिया बैंकले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागतमा ४.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले व्यक्तिगतमा ५ प्रतिशत र संस्थागतमा २.७५ प्रतिशत, नेपाल एसबिआईले व्यक्तिगतमा ५ प्रतिशत र संस्थागतमा ४ प्रतिशत, कृषि विकास बैंकले व्यक्तिगतमा ४.९५ प्रतिशत र संस्थागतमा २.७५ प्रतिशत, र सानिमा बैंकले व्यक्तिगतमा ५.१५ प्रतिशत र संस्थागतमा ३.४ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यी सबैमध्ये माछापुच्छ्रे, एनएमबि, नबिल, प्राइम, प्रभू, सिटिजन्स, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एशिया, स्ट्यान्डर्ड, नेपाल एसबिआई, कृषि विकास र सानिमा बैंकले ब्याजदर घटाएका हुन् ।

तर, नेपाल बैंक, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, कुमारी, ग्लोबल आइएमई र हिमालयन बैंकले असोज महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ५.२५ प्रतिशत र संस्थागतमा ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तथा संस्थागत दुवै तर्फ क्रमशः ५ र ४ प्रतिशत ब्याजदर यथावत राखेका छन् ।

कुमारी बैंकले व्यक्तिगत तर्फ ५.०१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशत ब्याज दिने भएको छ। ग्लोबल आइएमई र हिमालयन बैंकले व्यक्तिगतमा समान ६ प्रतिशत ब्याजदर कायम गरेका छन् भने संस्थागतमा क्रमशः ४.२५ र ४.५ प्रतिशत ब्याज दिने भएका छन् ।

बैंकहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै जाँदा ब्याजदरमा आएको यो कमीले बजारमा तरलता सहज बनेको सङ्केत गरेको बताइन्छ ।

You might also like

Comments are closed.