कास्की प्रशासनद्वारा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न निर्देशन जारी

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वहरू तिहार, नेपाल संवत्, छठ लगायतका पर्वहरूलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउनका लागि सात बुँदे निर्देशन जारी गरेको छ । प्रशासनले सामाजिक, सांस्कृतिक मूल्य–मान्यताको संरक्षण गर्दै सबै नागरिकलाई चाडपर्वको समयमा जिम्मेवार र सचेत रहन आग्रह गरेको हो ।

कार्यालयले सार्वजनिक शान्ति, सुरक्षा र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष सावधानी अपनाउन आग्रह गरेको छ । ‘सूचनामा  तिहार पर्वको समयमा पटाका, आतिशबाजी, विक्षेपक पदार्थ, मदिरा तथा विभिन्न नशालु पदार्थको प्रयोग नगर्नु पर्नेछ। यसले दुर्घटना र असुरक्षा बढाउने भएकाले यसप्रकारका कार्यमा संलग्न हुनेहरूविरुद्ध कानूनी कारबाही गरिने चेतावनी दिइएको  छ’, भनिएको छ ।

त्यसैगरी, सार्वजनिक स्थानमा कानून विपरीतका गतिविधि, भिडभाड, हुलदङ्गा र सामाजिक अव्यवस्था फैलाउने कार्य नगर्न पनि निर्देशन दिइएको छ । राति १० बजेपछि अनावश्यक आवागमन नगर्न तथा सार्वजनिक सेवा, होटल र मनोरञ्जनस्थलहरूले निर्धारित समयमै सेवा बन्द गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रशासनले दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, कालोबजारी र अनियमित बिक्री–वितरण रोक्न बजार अनुगमनलाई कडाइ गर्ने जनाएको छ । चाडपर्वको अवसरमा चोरी, ठगी, जबरजस्ती असुली, जुवातास र अन्य आपराधिक गतिविधि बढ्ने सम्भावना रहने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै, होटल, रेष्टुरेन्ट र मनोरञ्जनस्थलहरूमा भीडभाड, अव्यवस्था र अशान्ति फैलाउने कार्य नगर्न तथा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्तिमा अवरोध पुर्‍याउने गतिविधिमा संलग्न हुनेहरूलाई कारबाही गरिने चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले चाडपर्वको समयमा शान्ति सुरक्षा र सहज आवागमन व्यवस्थापनका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज र सर्वसाधारणबीच सहकार्य आवश्यक रहेको बताएको छ । उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा मिति २०८२ असोज २३ गते सार्वजनिक गरिएको हो ।

You might also like

Comments are closed.