काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मै सरकारको खर्च आम्दानीभन्दा बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु प्रकृतिको खर्च तीव्र गतिमा बढ्दा विकास बजेट भने खुम्चिएको छ ।
तथ्यांकअनुसार असोज मसान्तसम्म सरकारले ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ । तर आम्दानी (राजस्व, अनुदान र अन्य) भने २ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँ मात्र भएको छ । तीन महिनामै सरकारको आम्दानी र खर्चबीच १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको घाटा देखिएको छ, जसले सरकारले ऋण लिएर खर्च व्यवस्थापन गर्नुपर्ने अवस्था देखाउँछ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार यो खर्च कुल बजेट लक्ष्यको १८.५६ प्रतिशत हो । चालु आवमा सरकारले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । यसमध्ये चालु खर्च असोजसम्म २ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ, जुन लक्ष्यको २१.७५ प्रतिशत हो ।
पुँजीगत खर्च भने निकै कमजोर रह्यो । तीन महिनामा मात्र १९ अर्ब १८ करोड रुपैयाँ खर्च भएको छ, जुन लक्ष्यको ४.७ प्रतिशत मात्र हो । यस वर्षको पूँजीगत खर्च लक्ष्य ४ खर्ब ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
वित्तीय व्यवस्थापनतर्फ असोज मसान्तसम्म ८८ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । यो रकम प्रायः ऋणको साँवा र ब्याज तिर्न प्रयोग भएको हो । यस शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसको २३.६१ प्रतिशत खर्च भइसकेको छ ।
गत आवको तुलनामा यो वर्ष चालु खर्च बढेको र पुँजीगत खर्च घटेको देखिन्छ । अघिल्लो वर्षको असोज मसान्तसम्म कुल बजेट खर्च ३ खर्ब २९ अर्ब रुपैयाँ थियो, जसमा चालु खर्च २ खर्ब २९ अर्ब र पुँजीगत खर्च २९ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।
अघिल्लो आवमा सरकारले २०८०/८१ मा खर्च भएको बक्यौता पहिलो त्रैमासमै भुक्तानी गरेको हुँदा सो वर्ष पूँजीगत खर्च उच्च देखिएको हो । सो अवधिमा वित्तीय व्यवस्थापनतर्फको खर्च ६९ अर्ब ९७ करोड रुपैयाँ थियो ।
अर्थ मन्त्रालयका अनुसार यस वर्ष असोजसम्म २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ, जुन लक्ष्यको ७८.१२ प्रतिशत मात्र हो । चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको थियो । यसमध्ये असोजसम्म ३ खर्ब २१ अर्ब ५३ करोड संकलन गर्ने लक्ष्य थियो ।
असोज महिनामा मात्र १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ९२ अर्ब ४७ करोड रुपैयाँ मात्र उठेको मन्त्रालयको तथ्यांक छ, जुन ८९.७१ प्रतिशत प्रगति हो । असोज ३१ का दिन मात्र ८ अर्ब ६ करोड राजस्व उठेको देखिन्छ ।
गत आवको असोज मसान्तसम्म २ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ राजस्व उठेको थियो । यस अनुसार गत वर्षको तुलनामा चालु आवको असोजमा राजस्व संकलन घटेको देखिन्छ ।
Comments are closed.