उज्यालोको पर्व तिहारको समयमा घरको माहोललाई बढाउन आँगनको मध्यभागमा पर्ने गरी तथा ढोका (दैलो) अघिल्तिर आकर्षक रङ्गिचङ्गी फूल तथा विभिन्न प्रतीकहरु बनाएर रङहरुले सजाइने चित्रकलालाई बोलिचालीमा रंगोली भन्ने गरिएको छ ।
रंगोली हेर्दा सामान्य भए पनि यसका पनि केही नियमहरु छन् । सप्तरीकी ५० वर्षे तिल्की यादव करिब ३० वर्षदेखि दीपावलीमा रंगोली बनाउदै आइरहेकी छन् । रंगोली नियम अनुसार बनाउनु पर्ने उनको भनाइ छ । नियम अनुसार बनाएको रंगोलीले चाडको विशेष महत्व झल्काउने उनको विश्वास छ ।
धर्मशास्त्र अनुसार भगवान् श्री रामले १४ वर्ष वनबास बस्नुका साथै रावणको बध गरेर अयोध्या नगरी फर्किँदाको खुसीयालीमा दियो सजाएर जलाइएको थियो । त्यस दिनदेखि रंगोलीमा दियो आदि सजाउने परम्परा चल्दै आएको विश्वास गरिन्छ । दीपावलीको दिन बनाउने रंगोली सुख, सम्वृद्धि, खुसीको प्रतीक मानिन्छ ।
परम्परागत मान्यतामा रंगोली कस्तो हुनपर्छ ?
रंगोली बनाउदा परम्परागत मान्यता अनुसार सुन्दर, आकर्षक हुनुपर्छ । शास्त्र अनुसार रंगोली बनाउँदा विषेश कमलको फूलको चित्र मुख्य द्वारमा बनाइन्छ । यसले सकारात्मक उर्जा उत्पति गरेर मानिसको मन मष्तिस्कलाई सामान्य बनाउँछ । माता लक्ष्मी छिट्टै प्रशन्न भएर घरमा बास बस्ने विश्वास रहेको छ ।
रंगोलीको रंग कसरी तयार गरिन्छ ?
रंगोलीका रंगहरु छुट्टाछुट्टै थालमा राख्नु पर्छ । रंगहरुमा चामलको पिठो, बेसार , जस्ता सामग्रीहरु मिसाएर तयार गर्न सकिन्छ । साँझको बेला आँगनको बिचमा ठूलो आकारमा मयुरको र घरको मुख्य ‘द्वारमा कमल फूलको आकृति बनाइन्छ । रातो, हरियो, पहँेलो र गुलाबी रंगलाई शुभ र उत्तम रंग मानिन्छ । कालो रंगलाई अशुभ मानिन्छ त्यसैले रंगोली बनाउदा कालो रंग प्रयोग गर्न हुदैन ।
Comments are closed.