पोखरा । कास्कीमा अलैंची उत्पादन शुरु भएको छ । करीब ४ वर्ष अघी अलैंची खेती शुरु भएको कास्कीमा यस वर्षदेखि उत्पादन शुरु भएको हो । ताप्लेजुङमा प्रमुख रुपमा उत्पादन हुँदै आएको अलैंची खेती कास्कीमा पनि व्यवसायीक रुपमा यसको खेती शुरु भएसँगै उत्पादन हुन थालेको हो ।
देशकै ठूलो पोखरा महानगरपालिका वडा नम्बर १९ पैयुँममा अलैंचीको व्यवसायीक उत्पादन शुरु भएको हो । २०७३ साल बैशाखबाट पञ्चासे अर्गानिक कृषि फारम प्रालिले अलैंचीको व्यवसायीक खेती शुरु गरेको थियो । खेती शुरु गरेको करीब ४ वर्षपछि व्यवसायीक रुपमा उत्पादन शुरु भएको पञ्चासे अर्गानिक कृषि फारम प्रालिका व्यवस्थापक बासु तिवारीले जानकारी दिए ।
२०७२ सालबाट तयारी शुरु गरेपनि २०७३ साल बैशाखबाट अलैंची खेती शुरु गरिएको ब्यबस्थापक तिवारीले बताए । स्थानिय १० जनाको समूहले प्राइभेट पार्टनरसीप कम्युनिटी बेस मोडलमा सामुहिक रुपमा करीब ५ सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरेको उनले जानकारी दिए । अलैंची खेतीमा करीब साढे २ करोड खर्च भइसकेको ब्यबस्थापक तिवारीले बताए ।
व्यक्तिको जग्गा लिजमा लिएर खेती शुरु गरेको उनले बताए । उनका अनुसार वार्षिक रोपनीको ७ सय ५० रुपैयाँको दरले जग्गा लिजमा लिइएको हो । शुरुमा ३ लाख बेर्ना रोपिएको र पछि यो बढ्दै गएको उनले बताए ।
कम झञ्झटिलो र कम जोखिम हुने अलैंची खेतीको मुख्य समस्या भनेको सुकाउनु हो । बेर्ना रोपेपछि झार फडानी गर्ने, गोडमेल र यसका लाँक्रा (बुट्टा) काँटछाँट गर्नु यसको नियमित प्रक्रिया हो । सँगसँगै फुलमा परेका रुखका पातहरु पन्छाउनु पनि अलैंचीका लागि अनिवार्य कार्य हो ।
अलैंचीको फल टिप्ने बेला सबैभन्दा धेरै जनशक्ति आवश्यक पर्छ । अलैंचीको जरामा फल लाग्ने गर्दछ । त्यसरी लागेको फल टिपेर संकलन गर्नुपर्छ । त्यसरी संकलन गरेको फल छोडाएर भट्टीमा लगेर सुकाउनु पर्छ । हो अलैंचीको प्रमुख समस्या नै यहि हो । व्यवसायीक उत्पादन शुरु भएपनि अलैंची सुकाउने भट्टी भने छैन । जसका कारण हाल अस्थायी रुपमा अलैंची सुकाउन प्लाई उद्योगको भट्टी प्रयोग गरिदै आएको छ । पञ्चासे अर्गानिक कृषि फारम प्रालिका ब्यबस्थापक तिवारीले हाल पोखरा २७ पट्नेरीमा रहेको मनकामना प्लाई उद्योगको भट्टीमा अलैंची सुकाउने कार्य गरिदै आएको छ । प्लाई उद्योगको भट्टी भएपनि अलैंची सुकाउने ठाउँ बनाएर तत्कालका लागि समाधान खोजिएको उनको भनाई छ ।
भट्टीमा सुकाएपछि अलैंची पोखरा १६ द्वीपमा ल्याएर गोदाममा राखिन्छ । त्यसपछि मात्रै बिक्रिका लागि बोरामा हालेर झापाको बिर्तामोड पठाइने गरेको ब्यबस्थापक तिवारीले बताए । बिक्रीका लागि पठाउने काम भने अलैंची व्यवसायी कृष्ण सापकोटाले गर्दै आएका छन् । उसो त सापकोटा आफैलेपनि अलैंची खेती गर्दै आएका छन् । उनले कास्कीको मादी गाउँपालिकास्थित ताङतिङ क्षेत्रमा अलैंची खेती गरिरहेका छन् । करीब ५ वर्ष अघिदेखी उनले ११५ रोपनी क्षेत्रफलमा अलैंची खेति शुरु गरेका हुन् ।
अलैंची खेतीको व्यवसायीक उत्पादन शुरु भएपनि यसको प्रशोधन र खपत भने नेपालमा नहुने गरेको अलैंची व्यवसायीका अगुवा कृष्ण सापकोटा बताउँछन् । अलैंची खेती गर्न दक्ष जनशक्तिको अभाव हुनेगरेको उनको भनाई छ । पञ्चासे अर्गानिक कृषि फारम प्रालिलेपनि ताप्लेजुङबाट दक्ष कामदार ल्याएर दैनिक ज्यालादारीमा काममा लगाउने गरेको ब्यबस्थापक बासी तिवारीले बताए । उनले दक्ष प्राविधिक नहुनुपनि अलैंचीको व्यवसायीक उत्पादनमा समस्यका रुपमा रहेका छन् । जसका कारण केहि समस्या आयो भनेपनि पहिचान गर्न गाह्रो हुनेगरेको उनले गुनासो गरे । त्यसका साथै भट्टी, प्याकिङ, प्रशोधन, लेवलिङलगायतका बग्रेल्ती समस्या रहेको उनको भनाई छ ।
यसैबीच, गण्डकी प्रदेश सदस्य रामजीप्रसाद बरालले अलैंची खेतीका लागि प्राविधिक पक्षमा सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् । पैयुँमको अलैंची खेतीको मंगलबार अवलोकन गर्दै उनले अलैंची सुकाउनका लागि आवश्यक भट्टीका लागि मेसिन, प्रशोधनलागयतमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने र त्यसका लागि आफूले पहल गर्ने व्यवसायीहरुलाई आश्वासन दिएका हुन् ।
अलैंचीबाट राइफलमा लगाउने तेल उत्पादन हुनुका साथै मसलन, मिठाई, बिस्कुट, ब्रेड, बिर्यानीलगायतमा प्रयोग हुने गर्दछ । नेपालमा उत्पादन हुने अलैंची भारतहुँदै विश्वबजार पुग्ने गरेको बताइन्छ ।
Comments are closed.