काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व सांसद तथा उद्योगी विनोद चौधरीले आफ्नो राजनीतिक र व्यावसायिक जीवनको लेखाजोखा अन्ततः जनताले नै गर्ने बताएका छन् । उनले आफूले सधैं देशको आर्थिक विकासलाई राज्यको केन्द्रबिन्दुमा राख्नुपर्ने वकालत गर्दै आएको उल्लेख गरे ।
सोमबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७, बेलहानीस्थित आफ्नै निवास निरीक्षणपश्चात् पत्रकारहरूसँग कुरा गर्दै चौधरीले भने, “एउटा नयाँ जमात अब आउने निर्वाचनमा अगाडि उभिनेछ, तर युवाहरूको मनमा अब नेपाल परिवर्तन हुन्छ भन्ने आशा हराउँदै गएको छ । यस्तो हतोत्साहित अवस्थाबाट बाहिर निकाल्न हामी जिम्मेवार मान्छेहरूले भूमिका खेल्नुपर्छ।”
उनले जनताको विश्वासका कारण आफूले राजनीतिक यात्राको सुरुवात गरेको स्मरण गर्दै भने, “४५ दिनको तयारीमा म निर्वाचन लडेँ, एकसेएक महारथीहरूसँग प्रतिस्पर्धा गरेँ, जनताले विकासको विश्वास गरेर मलाई जिताए ।”
चौधरीले ३० वर्षदेखि जेनरेशन जेड (Gen Z) का युवाहरूको चाहना र संघर्षका पक्षमा आफूले काम गर्दै आएको बताए । “राजनीति मलाई न नामका लागि चाहियो, न दामका लागि । मेरो लक्ष्य सधैं सम्पन्न नेपाल निर्माण गर्नु हो । नेपाली युवाले स्वाभिमानी भएर विश्वमा टाउको उठाएर हिँड्न पाउनुपर्छ,” उनले भने ।
उनले विश्वभर रहेका नेपाली युवाको भावना कदर गर्नुपर्ने र उनीहरूको अपेक्षा बिथोल्ने तत्वहरूलाई साइड लगाउनुपर्नेमा जोड दिए । “एउटा नयाँ परिवर्तन नेपालमा आयो भने मभन्दा सन्तुष्ट व्यक्ति अरू कोही हुने छैन, म मेरो जलेको घर अगाडि उभिएर पनि त्यो कुरा भन्छु,” चौधरीले भने ।
विदेश रोजगारीको बढ्दो दरप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “दैनिक २५ सयभन्दा बढी नेपाली विदेश जान्छन्, तर एक करोड नेपाली नेपालमै बस्न नसक्ने अवस्था बन्यो । हामीजस्ता उद्यमीले १५–२० हजारलाई मात्रै रोजगारी दिएर समस्या समाधान हुँदैन भन्ने मानसिकता अब बदल्नुपर्छ।”
अन्त्यमा उनले देशका लागि बलिदान दिने जेनजी पुस्ताका युवाको आत्माको चिरशान्तिका लागि कामना गरे । विनोद चौधरी २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।








Comments are closed.