तरकारीमा आत्मनिर्भर हुन माछापुच्छ्रे–९ मा ‘एक परिवार एक करेसाबारी’ अभियान

सन्देश श्रेष्ठ
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा ‘एक परिवार एक करेसाबारी’ अभियान सञ्चालन भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ ले गाउँपालिकासँग मिलेर यो अभियान सञ्चालन गरेको हो । अभियानको बुधबार एक कार्यक्रमका बिच गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले उद्घाटन गरे ।

अभियान अन्तर्गत माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ भरीका सबैको घर÷घरमा करेसाबारी बनाइने भएको छ । वडा नम्बर ९ मा पर्यटकीय गाउँहरु घलेल, कुइबाङ, सैंतीघट्ट, चित्रेश्वाँरा, प्रुम्धुँ, तक्रो, इमु, सिधिङलगायत पर्दछन् ।

अभियान अन्तर्गत तीन चरणमा काम गरिने वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । २०७८ साल पुष मसान्त सम्ममा प्रत्येक घरमा करेसाबारी बनाउने लक्ष्य लिइएको यो अभियानको पहिलो चरणमा सहकारी गठन, दर्ता र ब्यबस्थापनको काम गरिने भएको छ भने दोश्रो चरणमा करेसाबारी निर्माणदेखि अनुगमनसम्मका काम गरिने तथा तेश्रो चरणमा व्यवसायीक तरकारी उत्पादनसँगै निर्यात गर्नसक्ने बनाएर वडालाई अर्गानिक तरकारी पकेट क्षेत्र घोषणा गरिने उनले बताए ।

jutta mela

अभियान अन्तर्गत तोकिएको अवधीमा १४ वटा नर्सरी विकास गर्ने, भकारो सुधार, खोर सुधारलगायतका कार्यक्रमपनि गरिने वडाध्यक्ष क्षेत्रीले बताए । अभियानका लागि ११ लाख ९२ हजार छुट्याइएको उनले बताए ।

वडाबासीले करेसाबारी भएरपनि करेसाबारीमा तरकारी नलगाउने बरु जमिन बाँझै राख्ने, तरकारी उब्जाएर खानुको सट्टा घरमा भएको गुन्द्रुक दैनिकजसो खाइरहने, एउटै तरकारी बारम्बार खाइरहने, तरकारी नै नखाने गरेको देखेर आफूले ‘एक परिवार एक करेसाबारी’ अभियान सञ्चालन गरेको वडाध्यक्ष क्षेत्रीले बताए । करेसाबारीमै तरकारी उत्पादन भएमा स्थानियले अर्गानिक तरकारी उपयोग गर्न पाउने र सोहि कारण मानिस स्वस्थ हुने उनको तर्क छ ।

यो अभियानले वडा नम्बर ९ लाई तरकारीमा आत्मनिर्भर बनाएर आर्थिक उन्नतीमा पनि सघाउने विश्वास लिइएको उनले बताए ।

अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश सांसद रामजीप्रसाद बरालले अभियानका लागि प्रदेश सरकारको सहयोग र साथ रहने प्रतिबद्धता जनाए । उनले घरमै करेसाबारी भयो र अर्गानिक तरकारी बारीमै टिपेर खान पाउने अवस्था आयो भने पर्यटकको आगमनपनि बढ्ने बताए । सांसद बरालले मान्छे धनीमात्र भएर नपुग्ने बरु स्वस्थ हुन आवश्यक रहेको भन्दै त्यसमा एक परिवार एक करेसाबारी अभियानले सघाउने बताए । आफ्नै बाँझो जमिनलाई उत्पादनमा लगाउन नसक्दा विषादीयुक्त तरकारी किनेर खाने र सोहि कारण रोग भित्रिएको भन्दै अब जीवनशैली र कार्यशैली बदल्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले गाउँपालिकाले अघि सारेको ‘पर्यटन, कृषि, उर्जा र पूर्वाधार, समृद्ध माछापुच्छ्रेको मूल आधार’ नारालाई सार्थक बनाउन ‘एक परिवार एक करेसाबारी’ अभियानले सघाउने विश्वास व्यक्त गरिन् । उनले पर्यटक आउने गाडीमै तरकारी बोकेर गाउँ जाने अहिलेको समस्या ‘एक परिवार एक करेसाबारी’ अभियानले अन्त्य गर्नपनि सघाउने उनले बताइन् । साथै आम्दानीको श्रोतसमेत बन्नसक्ने उनको भनाई थियो ।

You might also like

Comments are closed.