काठमाडौं । प्रतिकूल मौसमका कारण आज मुलुकभर हवाई उडान प्रभावित भएका छन् । ‘इनरुट वेदर’ बिग्रँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा धाँधली सिर्जना भएको हो ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिक उडानका केही विमान डाइभर्ट भएका छन् । भरतपुर र तुम्लिङटार विमानस्थलमा उडान बन्द छ। पोखरामा आगमन बन्द भए पनि प्रस्थान (डिपार्चर) खुला रहेको छ । श्री एयरलाइन्सका विराटनगर–काठमाडौं र भैरहवा–काठमाडौं उडान क्रमशः विराटनगर र भैरहवामै डाइभर्ट भएका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फ नेपाल एयरलाइन्स र इण्डिगो एयरका विमान नयाँदिल्ली डाइभर्ट भएका छन् भने एयर इण्डियाको विमान लखनऊ मोडिएको छ। हाल टीआईएको भिजिबिलिटी २,५०० मिटर रहेको छ ।
यसैबीच बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कमजोर हुँदै नेपालतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कात्तिक १५ सम्म मधेस, कोशी र बागमती प्रदेशमा वर्षा प्रभाव रहने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।








Comments are closed.