काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण पाएको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका आठ जलविद्युत आयोजनाबाट उत्पादित यस विद्युतको निर्यात स्वीकृतिलाई नविकरण गरेको हो ।
विद्युत प्राधिकरणले देशभित्र खपत पछि अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन सम्झौता अनुसार हरियाणा र बिहार राज्यमा बिक्री गर्दै आएको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ ।
आईएक्समा विद्युत बिक्री गर्न स्वीकृत चार आयोजनाको १०३ मेगावाट विद्युतको अनुमति विभिन्न मितिमा समाप्त भइसकेको थियो । अब सबै आयोजनाको निर्यात करिब एक वर्षका लागि नविकरण स्वीकृतिसहित मंगलबारबाट लागू हुनेछ ।
यसैगरी, हरियाणा राज्यलाई बिक्री भइरहेका चार आयोजनाबाट उत्पादित १८० मेगावाट विद्युतको अनुमति बिहीबार सकिँदै थियो। अब यी आयोजनाबाट उत्पादित विद्युत पनि शुक्रबारदेखि आईएक्समा निरन्तर बिक्री गर्न पाउनेछन् ।
नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारत भ्रमणको क्रममा विद्युत मन्त्री मनोहरलाल खट्टरसँग भेट गर्दै निर्यात स्वीकृतिको प्रक्रिया सरलीकृत गर्न आग्रह गरेका थिए ।








Comments are closed.