मलेसियाको नयाँ मापदण्डले पर्ने सम्भावित प्रभावबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि लागू गरेको नयाँ मापदण्डका कारण नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे अध्ययन गरी आवश्यक पहल गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार बिहान श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई कार्यकक्षमा बोलाउँदै सो विषयमा विस्तृत जानकारी लिइन् । भेटवार्ताका क्रममा सचिव पुष्करले मलेसियाले वैदेशिक रोजगार व्यवसायसम्बन्धी ल्याएको नयाँ व्यवस्था तथा त्यसले नेपालमा पार्न सक्ने प्रभावबारे जानकारी गराउँदै, कूटनीतिक तहमा समन्वय गरी समाधान खोज्नु आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले यस विषयमा परराष्ट्र, अर्थ तथा श्रम मन्त्रालयबीच घनिष्ठ समन्वय गरी प्रभावकारी कदम चाल्न सुझाउँदै गृहकार्य गर्न निर्देशन दिइन् ।

मलेसिया नेपाली कामदारको प्रमुख रोजगारी गन्तव्य देश हो । नेपालमा दर्ता भएका करिब १,२०० वैदेशिक रोजगार व्यवसायीमध्ये करिब ९०० जति कम्पनी मलेसियामै निर्भर रहेको अवस्थामा नयाँ मापदण्डले नेपाली रोजगार व्यवसायमा ठूलो असर पार्ने अनुमान गरिएको छ । व्यवसायीहरूका अनुसार नयाँ मापदण्डका कारण नेपालका करिब एक दर्जन ठूला म्यानपावर कम्पनी मात्र मलेसियामा कामदार पठाउन योग्य हुने सम्भावना रहेको छ ।

You might also like

Comments are closed.