काठमाडौं । दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (DEX) मार्फत नयाँ सुविधा ‘लास्ट–माइल डेलिभरी सोलुसन’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । यस नयाँ सेवाको उद्देश्य दराजको प्लेटफर्ममा नहुने ब्रान्ड र विक्रेताहरूका लागि पनि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधान उपलब्ध गराउनु हो ।
दराज एक्सप्रेसले यो सेवामार्फत नेपालभरका व्यवसायहरूलाई चुस्त, सुरक्षित र विश्वासिलो वितरण सञ्जाल प्रदान गर्दै उनीहरूलाई आफ्ना उत्पादन र व्यवसाय विस्तारमा केन्द्रित रहन सशक्त बनाउने लक्ष्य लिएको छ । बजारमा विद्यमान सेवा प्रदायकहरूले नपुगेको गति, सन्तुष्टि र पारदर्शिताको आवश्यकता पूरा गर्न दराज एक्सप्रेसले यो समाधान ल्याएको जनाएको छ ।
कृत्रिम बुद्धिमत्ता (AI)मा आधारित रुट–प्लानिङ प्रणाली र रियल–टाइम पार्सल ट्र्याकिङ प्रविधिको प्रयोगबाट DEX ले स्थानीय अर्डरहरू २४ घण्टाभित्र र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता राखेको जनाएको छ । यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कममा झार्न सहयोग पुर्याएको छ। हालसम्म DEX ले ९० प्रतिशतभन्दा बढी सफल डेलिभरी दर हासिल गरेको छ, जसलाई ग्राहकहरूले ४.६/५ को मूल्याङ्कनद्वारा समर्थन गरेका छन् ।
हाल DEX ले नेपालका १०८ प्रमुख सहरहरूमा सेवा विस्तार गरिसकेको छ र आगामी ११.११ अभियान अघि थप ७० सहरहरूमा सेवा विस्तार गर्ने योजना बनाएको छ । यसले दराज एक्सप्रेसको देशव्यापी पहुँच र “सबैका लागि छिटो र भरपर्दो ई–कमर्स सेवा” को प्रतिबद्धता झल्काउँछ ।
विक्रेताहरूको सुगम नगद प्रवाह र पारदर्शी वित्तीय व्यवस्थापनमा पनि DEX ले विशेष ध्यान दिएको छ। यस अन्तर्गत विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास–अन–डेलिभरी रकम सेटलमेन्टको सुविधा प्रदान गरिनेछ । साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेर व्यवसायीहरूको जोखिम घटाउने र आम्दानी बढाउने लक्ष्य राखिएको छ ।
दराज ग्रुपका प्रमुख लजिस्टिक अधिकृत अहमद तनवीरका अनुसार, “DEX ले दक्षिण एसियाको लास्ट–माइल डेलिभरी प्रणालीलाई पुनःपरिभाषित गर्दैछ । ठूला अनलाइन खुद्रा व्यवसायीहरूदेखि स्वतन्त्र विक्रेतासम्म सबैका लागि छिटो, पारदर्शी र तथ्याङ्कमा आधारित वितरण सेवा उपलब्ध गराउँदैछ ।”
यस समाधानमार्फत DEX ले नेपालका ब्रान्ड र विक्रेताहरूलाई विस्तारित बजार पहुँच, सजिलो व्यवसाय सञ्चालन, र मजबुत ई–कमर्स इकोसिस्टम निर्माणमा सहयोग पुर्याउने लक्ष्य लिएको छ । यी पहलहरूले दराजको “वाणिज्य शक्तिमार्फत समुदाय उत्थान” गर्ने उद्देश्यलाई अझ सबल बनाएको कम्पनीले जनाएको छ ।
सन् २०१५ मा स्थापना भएको दराजले हाल पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा विस्तार गरेको छ । करिब ५० करोड जनसंख्या भएका देशहरूमा अत्याधुनिक प्रविधिमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने मिशन अघि बढाइरहेको छ ।








Comments are closed.