काठमाडौं । थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले नेपालमा पहिलोपटक थ्री–क्लास (तीन वर्गीय) सुविधासहितको नयाँ एयरबस विमान सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि काठमाडौं–बैंकक मार्गमा यस विमानमार्फत सेवा सुरु गरिएको हो ।
यससँगै यात्रुहरूले प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी र इकोनोमी वर्गबीच रोजाइ गर्न सक्ने सुविधा पाएका छन् । नयाँ एयरबसले यसअघि सञ्चालनमा रहेको बोइङ ७७७ अपरेसनलाई प्रतिस्थापन गरेको हो । कम्पनीका अनुसार नयाँ विमानमा २६४ यात्रुका लागि सिट क्षमता रहेको छ, जसमा ३१ वटा प्रिमियम इकोनोमी प्लस सिटहरू पूर्ण फ्ल्याट बेड, प्रत्यक्ष आइसल पहुँच र निजी वातावरणसहित उपलब्ध छन् ।
त्यस्तै, ४८ वटा प्रिमियम इकोनोमी सिटहरू ठूलो र आरामदायी संरचनासहित, विशेष खानाको सेवा र प्राथमिक बोर्डिङ सुविधासहित रहेका छन् । इकोनोमी वर्गमा १८५ सिटहरू छन् , जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र उच्चस्तरीय केबिन सेवाहरू उपलब्ध छन् ।
थाइ एयरवेजले नेपालका लागि आफ्नो जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिससँग सहकार्य गर्दै नेपालभरका यात्रा व्यवसायीहरूका लागि नयाँ विमान कन्फिग्रेसन र सेवा प्रस्तावबारे प्रशिक्षण सत्रहरू आयोजना गरेको छ । यस पहलले यात्रुहरूलाई आफ्ना प्राथमिकता अनुसार उपयुक्त यात्रा छनोटमा सहजता पुर्याउने कम्पनीको दाबी छ ।
सन् २०२३ मा सेवा पुनःसञ्चालन भएपछि थाइ एयरवेज र सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसबीचको सहकार्यले नेपाल–बैंककबीचको कनेक्टिविटी र सेवा प्रवाह दुवैमा उल्लेखनीय सुधार ल्याएको कम्पनीले जनाएको छ ।








Comments are closed.