काठमाडौं । सडक सुरक्षामा युवाको सक्रिय सहभागिता र नेतृत्व विकास गर्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेशमा “युथ फर रोड सेफ्टी” कार्यक्रम सुरु गरिएको छ । भोइस अफ थ फर सेफ एण्ड सस्टेनेबल मोविलिटी अन्तर्गतको पहिलो सुदूरपश्चिम स्तरीय यो कार्यक्रम कार्तिक १५ गते धनगढीबाट औपचारिक रूपमा प्रारम्भ भएको हो ।
कार्यक्रममा युवा अभियानकर्मी, राइडर्स, खेलाडी, व्यवसायी, इन्जिनियरिङ, म्यानेजमेन्ट र पर्यटनका विद्यार्थीलगायत करिब ६० जनाको सहभागिता रहेको थियो। सो कार्यक्रम सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनको आयोजनामा, सुदूरपश्चिम प्रदेश युवा परिषद् र प्रदेश खेलकुद परिषद्सँगको समन्वयमा तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रम सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष पुष्कर ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउद र प्रदेश खेलकुद परिषद्का सचिव लालबहादुर खड्काले संयुक्त रूपमा शुभारम्भ गरेका थिए । सो अवसरमा कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाश चन्द, कराते महासंघ सुदूरपश्चिमका अध्यक्ष त्रिलोक पाण्डे लगायतका विभिन्न वक्ताहरूले सडक सुरक्षामा युवाको भूमिका र सरोकारबारे विचार राखेका थिए ।
युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले ‘सडक सुरक्षामा युवाको आवाजको आवश्यकता र महत्व’ शीर्षकमा प्रस्तुति दिँदै सुदूरपश्चिम प्रदेशको सडक अवस्थामाथि, युवाको नेतृत्व र सरकारी निकायबीचको सहकार्यका पहलबारे विस्तृत जानकारी प्रस्तुत गरे ।
नासा नेपालका उपाध्यक्ष अनिल बरालले मोटरस्पोर्ट्स र सडक सुरक्षाको आपसी सम्बन्धबारे प्रष्ट पार्दै खेलाडी र युवा समुदायको सहभागिता बिना सडक सुरक्षाको सुधार सम्भव नहुने उल्लेख गरे। यसैबीच, प्रदेश युवा परिषद्का उपाध्यक्ष गजेन्द्र साउदले युवालाई परिचालन गरी प्रदेशमा सडक सुरक्षाको सुधारमा योगदान पुर्याउने प्रतिबद्धता जनाउँदै नासा नेपालसँग सहकार्यका लागि तत्परता देखाए ।
प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लालबहादुर खड्काले “खेलाडीमार्फत सडक सुरक्षाको अभियान अत्यन्तै महत्वपूर्ण छ” भन्दै युथ फर रोड सेफ्टी इन नेपालको अभियानसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा सहभागी युवाहरूबीच ‘सडक सुरक्षाको वर्किङ ग्रुप’ गठन गरिएको छ, जसले आगामी दिनमा सुदूरपश्चिमभर “सुरक्षित यात्रा अभियान” सञ्चालन गर्ने योजना बनाएको छ। वर्किङ ग्रुपका संयोजक त्रिलोक पाण्डेले स्टार रेटिङ स्कुल, रोड सेफ्टी मोटिभेटर प्रशिक्षण, अनलाइन रोड सेफ्टी कोर्स र नीति निर्माणमा लबिङलगायतका गतिविधि अघि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रम नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईको सहजीकरणमा सम्पन्न भएको थियो, जसमा यामाहा रेसिङ नेपालले सहयोग प्रदान गरेको थियो। सुदूरपश्चिमका आठ जिल्ला र कर्णाली प्रदेशका युवाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
यो कार्यक्रम अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (FIA) को सेफ एण्ड सस्टेनेबल मोविलिटी सहयोग परियोजना अन्तर्गत सञ्चालन भइरहेको हो, जसमा FIA Foundation, नासा फाउण्डेशन र मोटरिङ नेपाल को सहकार्य रहेको छ ।




Comments are closed.