सेरेसले हङकङमा सूचीकरण गर्दै उठायो १.८ अर्ब अमेरिकी डलर

काठमाडौं  । चिनियाँ इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङ स्टक एक्सचेन्जमा आफ्नो शेयर सूचीकरण गर्दै करिब १.८ अर्ब अमेरिकी डलर (१४.३ अर्ब हङकङ डलर) जुटाएको छ । कम्पनीले शेयर मूल्य निर्धारण गर्दा अधिकतम मूल्य सीमामा सूचीकरण गरेको र डिलको आकार बढाउने विकल्प समेत प्रयोग गरेको जनाएको छ ।

कम्पनीको वक्तव्यअनुसार, चोंगकिंगमा अवस्थित र हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेडसँग साझेदारीमा रहेको सेरेसले करिब १०८.६ लाख कित्ता शेयर प्रति शेयर १३१.५० हङकङ डलरमा बिक्री गरेको हो । यसमा अतिरिक्त ८.४ लाख कित्ता शेयर पनि समावेश छन्, जसले प्रस्तावित शेयर संख्यामा ८.४५ प्रतिशत वृद्धि गरेको छ ।

लिस्टिङ मूल्य शाङ्घाई स्टक एक्सचेन्जमा शुक्रबारको बन्द मूल्य १५५.१९ युआनभन्दा करिब २२५ कम रहेको बताइएको छ। सेरेसका हङकङमा सूचीबद्ध शेयरहरूको कारोबार बुधबारदेखि सुरु हुनेछ ।

यो वर्ष हङकङमा १ अर्ब अमेरिकी डलरभन्दा बढी रकम उठाउने आठौँ कम्पनी बनेको सेरेससँगै, २०२५ मा हङकङमार्फत जुटाइएको कुल लगानी ब्लूमबर्ग इन्टेलिजेन्सका अनुसार २६ अर्ब डलरभन्दा बढी पुगेको छ ।

सन् १९८६ मा स्थापना भएको सेरेसले सुरुवातमा स्प्रिङ र शक अब्जर्भर उत्पादन गर्थ्यो, पछि मोटरसाइकल र अन्ततः इलेक्ट्रिक सवारी साधन उत्पादनतर्फ विस्तार गर्‍यो। हुवावेसँगको रणनीतिक साझेदारी कम्पनीका लागि महत्वपूर्ण मोडको रूपमा हेरिएको छ । ब्लूमबर्गका अनुसार, विश्लेषकहरूले यस वर्ष सेरेसको नाफा ७२५ प्रतिशतले बढेर १०.२ अर्ब युआन पुग्ने अनुमान गरेका छन् ।

सेरेसको सूचीकरण प्रक्रिया चाइना इन्टरनेसनल कर्पोरेसन र चाइना ग्यालेक्सी सेक्युरिटिज कम्पनी लिमिटेडले संयुक्त रूपमा सम्हालेका हुन् ।

You might also like

Comments are closed.