काठमाडौं । लुम्बिनी प्रदेशमा नै पहिलो पटक पाउडर प्लान्ट स्थापना हुने भएको छ । नेपाल कै ठूलो डेरी उद्योग मध्येको एक ग्लोबल डेरीले प्रदेशमै पहिलो पटक प्लान्ट स्थापना गर्न लागेको हो । अबको २ महिनाभित्र प्लान्ट स्थापना हुने गरी निर्माणको काम भइरहेको छ ।
दूग्ध व्यवसायको प्रवर्द्धन गर्ने र लुम्बिनी प्रदेश लगायत आसपासका क्षेत्रको दूध खेर जान नदिनका लागि प्लान्ट स्थापना गर्न लागिएको बताइएको छ । बुद्धभूमि नगरपालिका ९ स्थित इमिलियामा पाउडर प्लान्ट निर्माणको काम धमाधम चलिरहेको छ । डेरी व्यवसायी थानेश्वर न्यौपाने, जनक न्यौपाने र कमल न्यौपानेको लगानीमा पाउडर प्लान्ट निर्माण कार्य भइरहेको हो ।
‘निर्माणको काम तीव्र गतिमा भइरहेको छ, अबको साढे दुई महिनाभित्र निर्माण सम्पन्न हुनेछ’ ग्लोबल डेरीका अध्यक्ष थानेश्वर न्यौपानेले बताए । उनका अनुसार प्लान्टमा ४० करोड रुपैयाँ लगानी हुनेछ । कृषि विकास बैंकले बैंकिङ साझेदारी गरिरहेको छ ।
‘उद्योगलाई आवश्यक पर्ने सामानहरु आइसकेको छ, संरचना निर्माणको काम सकिए लगत्तै सञ्चालन गर्नेछौँ,’ उनले भने । बिगत १२ वर्षदेखि डेरी व्यवसाय चलाउँदै आएका न्यौपानेले यहाँ उत्पादित दूधको मात्रा बढ्दो क्रममा रहेकाले व्यवसायी तथा किसानबाट दूध बिकेन भन्ने समस्या आउन नदिन पाउडर प्लान्ट स्थापना गर्न लागिएको बताए । ‘हामीले लामो समयदेखि यस क्षेत्रमा पाउडर प्लान्टको माग गर्यौं,’ उनले भने, ‘अन्तमा आफ्नै अग्रसरतामा लगानीमा जुट्यौं ।’
लुम्बिनी क्षेत्रका खेर गएका दूधलाई व्यवस्थित गर्दै पाउडर बनाउने योजना अनुसार सो कार्य अघि बढाइएको न्यौपाने बताउँछन् । ‘पाउडर प्लान्ट स्थापनाको तयारीसँगै यस क्षेत्रका दुग्ध उत्पादक किसानहरुमा खुसी छाएको छ,’ उनले भने ।
ग्लोबल डेरीको दूध तथा दुग्धजन्य प्रडक्टहरु हाल काठमाडौं, कपिलवस्तु, बुटवल लगायत क्षेत्रमा खपत हुने गरेको छ । पाउडर प्लान्ट सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशमा उत्पादन भएका दूधको बजारीकरणमा धेरै सघाउ पुग्ने विश्वास गरिएको छ ।








Comments are closed.