अटोमोबाइल्स एसोसिएसनद्वारा खेलकुद मन्त्री गुप्तालाई बधाईसहित सुझावपत्र

काठमाडौं । नव नियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का प्रतिनिधिहरूले सोमबार मन्त्रालयमा भेट गरी बधाईसहित सुझावपत्र बुझाएका छन् ।

मार्शल एण्ड ट्रेनिङ कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्ट्स कमिसनका सचिव तथा स्पोर्ट्स एण्ड इभेन्ट अफिसर अंकित भण्डारी सहितको टोलीले मन्त्री गुप्तालाई भेट गर्दै नेपालमा मोटरस्पोर्ट्स र अन्य साहसिक खेलकुदको दीगो विकासका लागि ठोस नीति निर्माण, संरचनागत सुधार कार्यक्रम र आवश्यक बजेट सुनिश्चितता सम्बन्धी सुझावहरू समेटिएको पत्र हस्तान्तरण गरेको हो ।

सो अवसरमा प्रतिनिधि टोलीले युवा तथा खेलकुद मन्त्रालयले ‘युवा सोच र साहसिक दृष्टि’ बोकेका मन्त्री पाएकोमा खुशी व्यक्त गर्दै साहसिक र पर्यटनसँग जोडिएका खेलकुद क्षेत्रले अब नयाँ आशा गरेको बताए ।

उनका अनुसार, नेपाली खेलकुदलाई व्यवस्थित, व्यावसायिक र भविष्यमुखी बनाउन मन्त्रालयको अभियानमा नासा नेपाल सधैं सहकार्य र समर्थनका साथ रहनेछ ।

सुझावपत्र ग्रहण गर्दै मन्त्री गुप्ताले प्रस्तुत सुझावहरू अत्यन्त व्यावसायिक, व्यवहारिक र दूरदर्शी भएको उल्लेख गरे। “मन्त्रालयले यति व्यवस्थित र गहन सुझाव पहिलोपटक प्राप्त गरेको हो,” मन्त्री गुप्ताले भने, “यस्ता सुझावहरूले युवा खेलाडी र अफिसियलमा थप हौसला मिल्नेछ ।”

सुझावपत्रमा नेपालमा साहसिक तथा मोटरस्पोर्ट्सलाई व्यवस्थित बनाउन नीतिगत, कार्यक्रमिक र बजेटीय पहलको आवश्यकता औँल्याइएको छ ।

सुझावपत्रमा राखिएका प्रमुख माग/सुझाव

• साहसिक तथा पर्यटकीय खेलकुदको विस्तृत अध्ययन गरी रणनीतिक योजना बनाउन कार्यदल गठन  ।
• नेपाललाई एडभेन्चर स्पोर्ट्स हब बनाउने गरी नीति, कार्यक्रम र बजेट व्यवस्था ।
• काठमाडौंमा कम्तीमा १०० रोपनी क्षेत्रफलको रेसिङ ट्र्याक निर्माणका लागि जग्गा उपलब्ध गराउने ।
• मोटरस्पोर्ट्स र अन्य साहसिक खेल प्रवद्र्धन गर्न सहायक नीतिगत तथा कार्यक्रमिक व्यवस्था ।
• खेल सामाग्री आयातमा भन्सार छुट र बीमाको व्यवस्था ।
• माउण्ट एभरेस्ट मोटर स्पोर्ट्स फेस्टिवलका लागि वार्षिक ५० लाख बजेट ।
• मधेश प्रदेशमा वाटर स्पोर्ट्स सेन्टर स्थापना ।
• पोखरा पुरानो डोमेस्टिक एअरपोर्ट र बागलुङको बलेवा एयरपोर्टलाई एडभेन्चर स्पोर्ट्स सेन्टरका रूपमा विकास ।
• सातै प्रदेशमा ई–स्पोर्ट्स सेन्टर स्थापना ।
• रोकिएको माउण्टेन स्पोर्ट्स फेस्टिवल पुनः सञ्चालन ।
• २०२६ मा नेशनल स्पोर्ट्स कन्फ्रेन्स आयोजना ।
• अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी खेलाडीलाई पुरस्कार वितरणमा हुने भेदभाव अन्त्य ।

सुझावपत्रमा नेपालमा साहसिक खेल पर्यटन विकासले रोजगारी, पर्यटन प्रवद्र्धन र समृद्धिको यात्रामा टेवा दिने भएकाले सरकारले यो क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

गत महिनामात्रै श्रीलंकामा सम्पन्न एफआईए एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपालले जापान र अस्ट्रेलियाजस्ता देशसँग बराबरी अंक ल्याउँदै स्वर्ण पदक जितेको उदाहरण समेत सुझावपत्रमा समावेश छ ।

नासा नेपालले विगत १६ वर्षदेखि नेपाललाई विश्वको ‘एडभेन्चर एण्ड मोटरस्पोर्ट्स डेस्टिनेसन’ बनाउने अभियानमा सक्रिय रहेको जनाएको छ ।

सुझावपत्रमा, “यी कामहरू वर्षदिनमा पूरा नहोला, तर सुरुवात हुनु नै ऐतिहासिक उपलब्धि हुनेछ,” उल्लेख गर्दै मन्त्रीको कार्यकालमा खेल पर्यटनमार्फत देशको समग्र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

You might also like

Comments are closed.