टिग नास आईटी एक्सपो २०२५ सम्पन्न

काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) द्वारा आयोजित ‘टिग नास आईटी एक्सपो २०२५’  सम्पन्न भएको छ । कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित दुईदिने प्रदर्शनीमार्फत स्वदेशी प्रविधि कम्पनीहरूको उत्पाद, सेवा र नवप्रवर्तनलाई व्यापक रुपमा प्रस्तुत गरिएको थियो ।

नास–आईटीका अध्यक्ष गौरव पाण्डेका अनुसार एक्स्पोले नेपालको डिजिटल इकोसिस्टम सुदृढीकरणका लागि सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा महत्वपूर्ण मोडको रूपमा काम गरेको छ। “एक्स्पोमार्फत प्रविधि र अवसरबीचको पुल निर्माण गर्ने हाम्रो उद्देश्य पूरा भएको छ । यसले नेपालको आईटी उद्योगका लागि नयाँ मापदण्ड स्थापित गरेको छ,” अध्यक्ष पाण्डेले भने ।

दुई दिनसम्म चलेको यो एक्स्पोमा उद्यमी, व्यवसायी, सरकारी अधिकारी, विदेशी नियोग, बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि, स्टार्टअप संस्थापक, विद्यार्थी तथा प्रविधि क्षेत्रका विशेषज्ञहरूको उल्लेख्य सहभागिता रह्यो । २५०० भन्दा बढी अवलोकनकर्ता उपस्थित रहेको नास–आईटीले जनाएको छ ।

कार्यक्रममा नयाँ प्रोडक्ट लन्च, स्टार्टअप नवप्रवर्तन, सफ्टवेयर तथा क्लाउड सेवामा विशेष अफर, डिजिटल सोलुसन, एआई–भित्रीकरणका नमुना, डेमो प्रस्तुति लगायतका प्रविधि–कक्षा प्रदर्शन गरिए। साथै, लाइभ पिच–डेक सत्र मार्फत सहभागी कम्पनीहरूले आफ्ना आइडिया तथा सहकार्यका सम्भावनाहरू शेयर गर्दै लगानी तथा साझेदारीका अवसर प्रस्तुत गरेका थिए ।

एक्स्पोमा सहभागी कंपनी रिप्पल बाइट्सले प्रदर्शनीले आफ्नो व्यवसाय विस्तार र नेटवर्किङका लागि ठूलो अवसर सिर्जना गरेको बताउँदै आगामी संस्करणहरूमा पनि निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नास–आईटीका अनुसार, एक्स्पोले नेपालको प्रविधि इकोसिस्टमलाई एक प्लेटफर्ममा एकीकृत गर्दै नवप्रवर्तन, उद्यमशीलता, स्टार्टअप संस्कृति तथा सहकार्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने माइलस्टोन को रूपमा आफूलाई स्थापित गरेको छ।

नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) नेपालको अग्रणी गैर–नाफामुखी संस्था हो, जसले देशको सूचना प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन, सहकार्य, उद्योगमैत्री नीति र विश्वव्यापी प्रतिस्पर्धात्मकता अभिवृद्धिमा सक्रिय भूमिका खेल्दै आएको छ ।

You might also like

Comments are closed.