इटहरी । करुणा फाउण्डेसन नेपाल (करुणा नेपाल) र द ह्यान्ड प्रोजेक्ट, जर्मनीको सहकार्यमा कोशी प्रदेशको इटहरीमा आयोजना गरिएको निःशुल्क कृत्रिम हात नापजाँच, जडान तथा वितरण शिविर बुधबार सम्पन्न भएको छ।
कात्तिक १७ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको यस शिविर अन्तर्गत १४ जिल्लाका १९९ जना अपाङ्गता भएका व्यक्तिलाई २०४ वटा हलुका तथा सहजै प्रयोग गर्न सकिने कृतिम हात (lightweight functional prosthetic hand/arm) निःशुल्क वितरण गरिएको हो। तीमध्ये ५ जनालाई दुबै हात नापजाँच, जडान तथा वितरण गरिएको थियो।
शिविरमा सहभागी लाभग्राहीमा झापा ४७ जना, उदयपुर २३ जना, सुनसरी २० जना, खोटाङ २० जना, ओखलढुङ्गा १४ जना, पाँचथर १२ जना, मोरङ १९ जना, भोजपुर १० जना, सोलुखुम्बु ९ जना, तेह्रथुम ९ जना, ताप्लेजुङ ६ जना, धनकुटा ५ जना, इलाम २ जना, संखुवासभा २ जना र काठमाडौंका १ जना रहेका छन्। जस मध्ये महिला ५७ जना, पुरूषः १४७ (बालबालिकाः१७ र वयस्कः १८२) रहेका छन् ।
शिविरमा न्युजिल्याण्ड र युगान्डाबाट आएका प्राविधिक टोलीहरूले व्यक्तिहरूको आवश्यक्ताको नापजाँच गरी हात जडान गरिदिए पश्चात सो हातको प्रयोग सम्बन्धी व्यवहारिक प्रशिक्षण समेत प्रदान गरेका थिए।
लाभग्राहीले कृतिम हात प्राप्त गरेपछि आत्मविश्वास, स्वावलम्बन र सक्षम जीवनतर्फ अघि बढ्न प्रेरित भएको अनुभूति व्यक्त गर्दा यस शिविरले अपाङ्गता भएका व्यक्तिहरूलाई पुनःआत्मनिर्भर, सम्मानजनक र उत्पादक जीवनतर्फ अघिबढ्न योगदान पुर्याउने विश्वास लिइएको छ।

९ दिनसम्म सञ्चालित शिविरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवती रमण भण्डारी, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्की, राज्यमन्त्री सृजना राई, प्रदेशसभा सदस्य इश्राइल मनसुरी, साथै स्थानीय जनप्रतिनिधि, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयाल, सहायक सचिव दुर्गा वराल भण्डारी, शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख लक्ष्मी न्यौपाने, राष्ट्रिय अपाङ्ग महासंघका कोशी प्रदेशका अध्यक्ष नविन चन्द्र ढुङ्गेल, सचिव गोपालमान थापा, केन्द्रिय सदस्य मदन बोहोरा लगायत अन्य सरोकारवालाले शिविरको अनुगमन भ्रमण गरी सेवाग्राही तथा प्राविधिकहरूसँग अन्तरक्रिया गरेका थिए ।
शिविर सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै सरोकारवाला प्रती करुणा फाउण्डेसन नेपालले आभार व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण, पुनःस्थापना तथा अधिकार प्रवर्द्धनका क्षेत्रमा निरन्तर सहकार्य गर्ने फाउण्डेसनले जनाएको छ ।









Comments are closed.