काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथा निर्यात प्रवर्द्धन समितिका सभापति नरेशलाल श्रेष्ठले सरकारले निर्यातमा दिने अनुदानलाई पुनः नियमित गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले खर्च घटाउने बहानामा निर्यातमा दिएको अनुदान रोक्न नहुने बताए ।
निर्यातमा दिइएको अनुदानलाई सुचारु गराउन माग गर्दै श्रेष्ठ लगायतको टिमले बुधबार मात्रै उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीसँग भेटवार्ता गरेको छ । सो अवसरमा भएको छलफलमा महानिर्देशक ज्ञवालीले पुरानो बक्यौता भुक्तानी गर्न फागुनसम्म ५ अर्ब रुपैयाँ निकासीको तयारी भइरहेको जानकारी दिएको श्रेष्ठले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बस्तुगत उपाध्यक्षको उम्मेदवारसमेत रहेका श्रेष्ठले उक्त अवसरमा बोल्दै निर्यातमा दिने अनुदानले राज्यलाई नै लाभ हुने बताए । निर्यातमा अनुदान दिदा नेपाली बस्तुको उत्पादन लागत केही सस्तो बनेर विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने धारणा राखे । निर्यात बढाउन सक्दा विदेशी व्यापार घाटा कम गर्न सकिने र त्यसको लाभ राज्यलाई हुने उनको तर्क छ । उक्त भेटमा श्रेष्ठसँगै महासंघका कार्यसमिति सदस्यहरु पशुपतीदेव पाण्डे, रेशम पोखरेल पनि सहभागी थिए ।
निर्यातमा दिएको अनुदान सूचारु गराउनका लागि नेपाल सरकारका अन्य निकायहरुमा पनि दबाब दिने काम आफूहरुले गरिरहेको श्रेष्ठको भनाइ छ ।








Comments are closed.