काठमाडौं । नेपाल टेलिकमले आव २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको आय र मुनाफा दुवैमा गिरावट आएको छ । सार्वजनिक विवरणअनुसार पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय रु. ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार पुगेको छ, जुन गत आवको सोही अवधिको रु. ८ अर्ब ६८ करोड १ लाख ८६ हजारभन्दा रु. ६ लाख ७१ हजार कम हो । यही अवधिमा कम्पनीको कुल आय पनि घटेर रु. ९ अर्ब ४७ करोड १० लाख ५१ हजारमा सीमित भएको छ, जुन गत वर्षको रु. १० अर्ब ६ करोड ३७ लाख ३६ हजारभन्दा रु. ५९ करोड २६ लाख ८५ हजार कम हो ।
मुनाफातर्फ पनि टेलिकमले गिरावट देखाएको छ । पहिलो त्रैमासिकसम्म कम्पनीको कर अघिको सञ्चालन मुनाफा रु. ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार मात्र रह्यो, जुन गत वर्षको सोही अवधिको तुलनामा १२.२९ प्रतिशतले कम हो । यसैगरी, कर अघिको कुल मुनाफा पनि कम हुँदै रु. २ अर्ब ८८ करोड २१ लाख १६ हजारमा झरेको छ, जुन गत वर्षको तुलनामा १८.९० प्रतिशत कम हो । कम्पनीको खुद मुनाफा पनि घटेर रु. १ अर्ब ३२ करोड ५१ लाख ७५ हजारमा पुग्यो, जुन गत आवको सोही अवधिभन्दा २३.८२ प्रतिशत कम हो । यस त्रैमासिकमा कम्पनीको प्रति शेयर आम्दानी (EPS) रु. २९.४५ रहेको छ ।
टेलिकमले आय तथा मुनाफामा कमी आउनुका विभिन्न कारणहरू उल्लेख गरेको छ । इन्टरनेट–आधारित एप र डिजिटल सञ्चार सेवाको व्यापक प्रयोगका कारण अन्तर्राष्ट्रिय आगमन कलको परिमाण घट्दै गएको र यसले अन्तरिक आवद्धता आय करिब १७.२९ प्रतिशतले घटाएको बताइएको छ । त्यस्तै, बजारमा व्याजदर घटेकाले मुद्दती निक्षेपबाट प्राप्त ब्याज आय ५० करोडले घटेको छ। कर्मचारी खर्च पनि वृद्धि भएको छ, कर्मचारी बीमा खर्च १.९५ करोडले बढेको र नेपाल लेखामान १९ अनुसार गणना गरिने कर्मचारी अवकाश दायित्वका लागि प्रयोग हुने दर परिवर्तन हुँदा अवकाश खर्च १६.५ करोडले बढेको उल्लेख गरिएको छ ।
सरकारी स्वामित्वको संस्था भएकाले टेलिकमले दुर्गम र कम प्रतिफल आउने क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधार गर्नुपर्ने बाध्यता रहेको र यसले कुल लागत बढाएको टेलिकमले स्पष्ट पारेको छ । डिजिटल प्रतिस्पर्धा तीव्र बन्दै गएको वर्तमान अवस्थामा आय र मुनाफामा दबाब बढेको भए पनि आगामी दिनमा सेवा सुधार र लागत व्यवस्थापनमा विशेष ध्यान दिने कम्पनिको भनाइ छ ।







Comments are closed.